आफ्नै गाउँ सुरक्षित ठान्दैनन् लापिलाङका महिला



चिरञ्जीवी मास्के, दोलखा ।

दोलखाको कालिञ्चोक गाउँपालिका–६ लापिलाङमा पछिल्लोपटक एक युवकले श्रीमतीको हत्या गरेपछि स्थानीय महिलाले असुरक्षित महसुस गर्न थालेका छन् ।
तीन वर्षको अवधिमा पारिवारिक तथा सामाजिक कारणले धेरै महिलाले ज्यान गुमाउनुपर्ने अवस्था बनेपछि स्थानीय महिलाले असुरक्षित महसुस गर्न थालेको सुनिता थामी बताउनुहुन्छ ।

पछिल्लोपटक फागुन ८ गते लापिलाङ आग्रालयका २७ वर्षीय हिमाल थामीले खुकुरी प्रहार गरी २१ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका थिए । उनको हत्या पारिवारिक हिंसाको परिणाम भएको स्थानीय महिलाको आरोप छ ।हिमाल थामीकी जेठी श्रीमतीले पनि २०७५ साल वैशाख २ गते झुन्डिएर आत्महत्या गरेकी थिइन् । जेठी श्रीमतीले पनि पारिवारिक हिंसाकै कारण आत्महत्या गरेको स्थानीयको भनाइ छ । मृतकको आमा कल्पना थामी आफ्नो छोरीले पारिवारिक हिंसाकै कारण आत्महत्या गरेको दाबी गर्नुहुन्छ ।त्यति बेला मृतकले आफूले आत्महत्या गर्नुमा श्रीमान् हिमाल थामीको कुनै संलग्नता नरहेको भनी चिठ्ठी लेखेको र त्यसैको कारण हिमाललाई सामान्य सोधपुछ मात्र भएको वडा नम्बर ६ का वडाध्यक्ष मानसिंह थामीले बताउनुभयो ।त्यसै गरी झन्डै तीन वर्षअघि कालिञ्चोक गाउँपालिका–५ लापिलाङमा एक युवकले खुकुरी प्रहारबाटै आफ्नो आमाको हत्या गरेको भए पनि उनलाई दुई वर्षमै कारागारमुक्त गरिएको स्थानीय महिलाहरु बताउँछन् । ‘त्यति बेला उनलाई मानसिक रोगी भन्दै दुई वर्षमै कारागारमुक्त गरिएको थियो, श्रीमती हत्याको यो घटनामा पनि त्यस्तै हुने हो कि भन्ने त्रास रहेको छ।’ –स्थानीय एक महिलाले भनिन् ।

हिमाल थामीले श्रीमतीको हत्या स्वीकार गरेको भए पनि उनी मानसिक रोगी भएका र झन्डै तीन वर्षदेखि औषधि सेवन गरिरहेको उनको पारिवारिक स्रोतले जनाएको छ । आत्महत्या गरी पहिलो श्रीमतीको मृत्यु भएपछि हिमाल मानसिक रोगी भएको र त्यति बेलादेखि नै उनले औषधि सेवन गरिरहेको भिनाजु सञ्जय थामीले बताउनुभयो ।कालिञ्चोक गाउँपालिकाको वडा नम्बर ५ र ६ लापिलाङमा तीन वर्षको अवधिमा चारभन्दा बढी महिलाले आत्महत्या गरेको तथा दुई महिलाको हत्या भएको र यसको कारण कहींकही पारिवारिक हिंसा नै रहेको स्थानीयको आरोप छ । तीन वर्षको अवधिमा लापिलाङमा तीन जना पुरुषले पनि आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ ।

स्थानीय सुकिमाया थामी आपराधिक घटनामा संलग्नलाई कानुनी कारबाही नगरी विभिन्न बहानामा संरक्षण गर्ने काम भए महिला हिंसाका घटना बढ्दै जाने र महिलाहरु घरपरिवारबाटै असुरक्षित महसुस गर्नुपर्ने अवस्था बन्ने बताउनुहुन्छ ।दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भेषराज रिजाल लापिलाङमा भएका घटनाको आफूले सूक्ष्म अध्ययन गरिरहेको र आपराधिक घटनामा संलग्नलाई उम्कन नदिने बताउनुहुन्छ । महिला हिंसा तथा आपराधिक घटना नियन्त्रणका लागि प्रहरीलाई सबैले साथ दिनुपर्ने प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्