नेकपा एकताको पहल गर्दै दोस्रोस्तरका नेता



काठमाडौं, (नेस)।

विभाजनले कानुनी मान्यता नपाएपछि नेकपाका दुवै गुटका दोस्रो स्तरका नेताहरु पार्टी एकताका लागि पहलमा जुटेका छन् । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विभाजन भएको नेकपाले फुटको कानुनी मान्यता नपाएपछि अहिले नेताहरु पार्टी एकताका बारेमा जुट्न थालेका छन् ।प्रधानमन्त्री ओली समूह र प्रचण्ड तथा माधव नेपाल समूहले एकले अर्कालाई कारबाही गर्ने तथा एकले अर्काको चरित्र हत्या गर्ने होडबाजी चलिरहेका बेला दुवै समूहका प्रभावशाली नेता शंकर पोखरेल तथा घनश्याम भुसालबीच पार्टी एकताको विषयमा बिहीबार छलफल भएपछि नेपालको राजनीति एकाएक तरंगित भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका पोखरेल र पूर्वमन्त्री तथा माधव नेपालका सारथीको रुपमा रहनुभएका भुसालबीच सिंहदरबारमा झन्डै एक घन्टा छलफल भएको थियो । छलफलमा दुवै नेताले पार्टी एकतालाई जीवित राख्ने विषयमा गहन छलफल गरेका थिए । झन्डै एक घन्टा भएको छलफलमा दुवै पार्टीका नेताहरुको पछिल्लो अभिव्यक्ति र पार्टी एकताको बारेमा छलफल भएको मुख्यमन्त्री पोखरेलले जानकारी दिनुभयो ।सत्ताको भागबन्डा मिल्न नसक्दा दुवै समूह विभाजित भए पनि देशभरका सच्चा कार्यकर्ता भने अझै पार्टी एकताको पक्षमा नै रहेको निष्कर्ष दुवै नेताले निकालेको बताइएको छ ।

पार्टी विभाजनपछि एकता अभियानमा लागेका पार्टीका उपाध्यक्ष वामदेव गौतम भने अझै पार्टी एक हुन सक्ने भन्दै दुवै समूहका नेताहरुसँग छलफल र भेटघाटमा नै व्यस्त रहनुभएको छ । उहाँले पार्टी एकता अब ओली समूहबाट सम्भव नरहेकाले प्रचण्ड–नेपाल समूहले पहल गर्नुपर्ने बताउँदै आउनुभएको छ ।यता प्रचण्ड–नेपाल समूह भने सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि ओली समूहप्रति बढी आक्रामक हुँदै ओली समूहसँग वार्तामा बस्न नसकिने भन्दै सरकारको तीव्र विरोध गरिरहेको छ ।

अहिले दुवै समूहका केही नेताका कारण पार्टी एकतामा बाधा पुगेको भन्दै स्थानीयस्तरका नेताहरु चिन्तित देखिएका छन् ।दुवै समूहका शीर्ष नेताहरु अहिले एकले अर्काको राजनीतिक भविष्य नामेट पार्ने गरी लागेका कारण कार्यकर्ताहरु निरास हुँदै गएको नेकपाका स्थानीय नेता गोकुल शर्माले बताउनुभयो ।a‘नेताहरु अहिले जसरी मञ्चमा एकले अर्कालाई सिध्याउने खेलमा सामेल हुनुभएको छ भोलि चुनावमा जाँदा कुन मुख देखाएर जान्छन् त्यो नेताहरुले सोच्ने बेला आएको छ।’ –शर्माले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्