भारतीय पक्षको सहमतिपछि अवैध उत्खनन् रोकियो



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्साको जगरनाथपुर गाउँपालिका १ पिपडाढी स्थित ओरिया नदिमा भारतीय पक्षबाट हुने अवैध उत्खनन् रोकिएको छ ।

गत माघ ३० गते भारतीयहरुले नेपाली भुमी भित्र पसेर अवैध उत्खनन गर्दा स्थानीय र सशस्त्र प्रहरीले रोक्न खोज्दा दुईजना सशस्त्र प्रहरी घाइते भएपछि, स्थानीय प्रशासनले भारतीय पक्षसँग सहकार्य गरेर उत्खनन रोक्न सफल भएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको पहलमा भारतीय पक्षबाट पूर्वी चम्पारणका एसडिएम साइला हर र एसएसबीका अधिकारीहरूसंग बैठक गरी ओरिया नदिमा भारतीय पक्षबाट भइरहेको अवैध उत्खनन रोक्ने सहमति भएको हो ।

दुवै देशका सीमा अधिकारी बीचको बैठकले नेपाली भूमिमा अवैध उत्खनन नगर्ने र सिमाना कायमका लागि दुई देशका नापी विभागसँग पहल गर्ने प्रस्ताव राखिएको र उक्त प्रस्तावमा सहमति भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । तामाङले सिमाको विषयमा टुङगो नलागे सम्म तत्काल भारतीय पक्षबाट भइरहेको उत्खनन रोक्न भारतीय एसडिएमले सहमति जनाएको कारण अहिले ओरीया नदिमा बालुवाको उत्खनन् रोकिएको बताउनुभयो ।

ओरिया नदीमा रहेको सीमास्तम्भ निर्माणका लागि नापी विभागका अधिकारीहरूले स्थलगत निरीक्षण गर्ने र सीमा निर्धारण गरेपछि आ–आफ्नो सीमामा वैध तरीकाबाट उत्खनन हुन दिने सहमति भएको पनि प्रमुख जिल्ला अधिकारी तमांगले जानकारी दिनुभयो ।यसअघि भारतीय पक्षले नेपाली भूमिमा प्रवेश गरी अनधिकृतरूपमा ओरिया नदीमा बालुवो उत्खनन गर्दै आएको थिए । ओरिया नदीमा निजी आबादी जग्गा रहेका नेपालीहरूले अहिले भारतीय पक्षबाट उत्खनन रोकिएपछि राहत महसूस गरेका छन् ।

भारतीय पक्षले ओरीया नदीमा बालुवा उत्खनन गरी बलजफ्ती लैजाने गरेका थिए । त्यस क्रममा भारतीय गाँउले र नेपाली सुरक्षाकर्मीहरूबिच झडप पनि हुँदै आएको थियो । पिपरडाढीका शिक्षक कारी चौधरीले निजी आबादी जग्गामा भारतीय पक्षबाट बलजफ्ती हुने गरेको उत्खनन रोकिएकोमा खुशी व्यक्त गर्नुभयो । शिक्षक चौधरीले भारतीय पक्षले आफ्नो भूमिबाट उत्खनन गर्ने वातावरण सृजना भए लामो समयदेखिको विवाद साम्य हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्