प्रविधि भित्रिएसँगै गोरु–राँगा विस्थापित



कृष्णउदास खनाल, वीरगन्ज ।

नयाँ–नयाँ प्रविधि र कृषि उपकरणहरु भित्रिँदै गएका कारण पर्साका किसानको खेती गर्ने तरिकामा पनि परिवर्तन आएको छ । कृषि क्षेत्रमा बढ्दै गएको आधुनिकीकरणसँंगै खेत जोत्नका लागि प्रयोग हुने ट्याक्टरले महत्व पाउन थालेपछि प्रायः सबै किसानले गोरु, राँगा खर्चिलो भएको भन्दै ट्याक्टरबाटै खेत जोत्ने र दाइँ गर्न थालेका छन् ।

यस्तै धान तथा गहुँ रोप्न, काट्न र दाइँ गर्न अन्य आधुनिक कृषि उपकरणहरुको प्रयोग किसानहरुले गर्न थालेका छन् । खेत जोत्न र दाइँ गर्न ट्याक्टरको प्रयोग बढेपछि किसानको घरगोठमा गोरु र राँगा देखिनै छाडेको छ । गोरु वा राँगा नारेर जोत्ने जनशक्तिको अभाव र खर्चिलो हुँदा अहिले अधिकांश किसानको पहिलो रोजाइ ट्याक्टर नै बन्दै गएको छ । प्रतिजोर राँगाको मूल्य ५० हजारदेखि १ लाखसम्म पर्ने गरेको छ । गोरु पनि कम्तीमा ५० हजार प्रतिजोडी पर्ने गर्छ । आफैंले गोरु पालेर खेती गर्दा निक्कै खर्चिलो हुने र खेत जोत्न भनेका बेला हली नपाइने भएका कारण पनि ट्याक्टरबाटै खेत जोतेर खेती गर्न सहज भइरहेको पर्साको भौराटारका किसान भवन दास वर्णवालले बताउनुभयो । खेत जोत्न ट्याक्टरको प्रयोग बढेपछि गाउँघरमा अहिले आक्कलझुक्कल केही किसानको घरगोठमा मात्र गोरु वा राँगा पालेको भेटिने गरेको उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र पर्साका प्राविधिक सहायक श्यामकिशोरप्रसाद कुर्मीले जिल्लाका प्रायः सबै किसानले गोरु, राँगा नै पाल्न छोडिसकेको बताउनुभयो । गाउँघरमा अहिले फाट्टफुट्ट मात्र गोरु वा राँगाले खेत जोतेको देखिने गरेको भन्दै उहाँले ज्ञान केन्द्रको पछिल्लो सर्वेक्षणअनुसार पर्सा जिल्लामा ९ सय घरधुरी बराबर एक घरधुरीका किसानले मात्र हल गोरु पालेको बताउनुभयो ।पर्सामा धान सुपरजोन कार्यक्रम सञ्चालन भएपश्चात् जिल्लाका किसानले कस्टम हायरिङ, पोस्ट हार्भेस्ट, साना सिँचाइ, सौर्य सिँचाइ, प्राविधिक सहयोग, धान रोप्ने, मल छर्ने, धान गोड्ने, धान काट्ने मेसिन, ट्याक्टर, माटो सुधारलगायत विभिन्न उपकरण तथा सामग्रीहरु ५० प्रतिशत अनुदानमा पाउने गरेका छन् । छिटो र सजिला उपकरणतर्पm कृषक आकर्षिक हुन थालेको कुर्मीले बताउननुभयो ।

प्रतिक्रिया दिनुहोस्