पालिका अध्यक्षविरुद्ध संघर्ष समिति



मोतीराम तिमल्सिना, काभ्रे । 

तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं लामाले उपभोक्ता समिति आफूअनुकूल गठन गरी रकम अनियमित गर्न खोजेको भन्दै बुधबार स्थानीयले संघर्ष समिति गठन गरेका छन् । गाउँपालिकाअन्तर्गत बोहोरे दोभान ठूलोपर्सेल तित्रिटार सडक मर्मतका लागि अध्यक्ष लामाले स्थानीयसँग कुनै छलफल नै नगरी एकलौटीरूपमा उपभोक्ता समिति गठन गरेको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

तेमाल गाउँपालिका–१, २ र ३ कल्लेरीपाखा चुखावेंशी सरमथली सडक निर्माणका क्रममा विनियोजन भएको १ करोड रकम हिउँदे सभाबाट घटाएर ८० लाख बनाएका थिए । उक्त रकम खर्चका लागि गाउँपालिका अध्यक्ष सलामसिं लामाले आफन्तहरुलाई समितिमा राखेर अनियमित गर्न खोजेको संघर्ष समितिका संयोजक हरिशरण भण्डारीले पत्रकार सम्मेलन गरी बताउनुभयो ।गाउँपालिकामा अध्यक्ष लामालाई जानकारी दिन र लिन खोज्दा अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको स्थानीय साइँला तामाङले बताउनुभयो । वर्षे अधिवेशनमार्फत सडक मर्मत सम्भारका लागि १ करोड रुपियाँ विनियोजन भएको थियो । त्यसपश्चात् आर्थिक वर्ष २०७७÷७८ को गाउँपालिकाको हिउँदे परिषद्बाट उक्त रकममा संशोधन गरी २० लाख रुपियाँ वडा नम्बर २ स्थित याङबेल खोलाको पहिरो व्यवस्थापनका लागि छुट्याइएको छ भने ८० लाख रुपियाँ बोहोरे दोभान ठूलोपर्सेल तित्रिटार सडक मर्मतका लागि विनियोजन भएको थियो ।

वडा नम्बर २ को पहिरो व्यवस्थापनका लागि वडा नम्बर ३ का मात्रै मानिस समावेश गरेर उपभोक्ता समित गठन गरिएको, सडक मर्मतका लागि समिति गठन गर्दा पनि त्यस भेगका उपभोक्तालाई थाहा नै नदिई गाउँपालिका अध्यक्ष लामाका आफन्तलाई राखेर समिति गठन गरिएको संयोजक भण्डारी बताउनुहुन्छ । उपभोक्ता समितिको अध्यक्षमा मनिल तामाङ र सचिवमा नीर तामाङ छन् । अध्यक्ष नीर तामाङ गाउँपालिका अध्यक्षका भाइ हुन् भने सचिव भतिज रहेको उहाँको कथन छ । यस विषयमा गाउँपालिका अध्यक्षसँग बुझ्न खोज्दा गाउँपालिकाको कार्यकक्षभित्र नै अमानवीय व्यवहार भएको कल्लेरीपाखा खहरेघाट चुखाबेंसी सरमथली सडक संघर्ष समितिका संयोजक भण्डारीले बताउनुभयो ।

गाउँपालिकाले गरेको सम्झौता रोकी त्यस उपभोक्ता समितिलाई विघटन गरेर तेमाल गाउँपालिका वडा नम्बर १, २, ३, ४, ६, ७ र ९ को संयुक्त उपभोक्तालाई भेला गराउन संघर्ष समितिको माग छ । आफूहरु विकास विरोधी नभएको भन्दै साइँला तामाङले नीति, विधि कायम होस् भन्ने मात्रै चाहना रहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्