अदुवा बिक्री नहुँदा किसान मारमा



विमल विष्ट , डोटी  ।

डोटीको दक्षिणी क्षेत्रका किसानले उत्पादन गरेको अदुवा बिक्री नहुँदा किसान मारमा वरेका छन् । उत्पादन गरेका अदुवा बिक्री नभएपछि बारीमै कुहिन थालेको छ ।अदुवा खरिद गर्ने ग्राहकहरु गाउँमा नआएका कारण अहिले सम्म किसानको अदुवा बारीमै थन्किने अवस्थामा पुगेको हो । वर्ष भरीको आम्दानीको स्रोतको रुपमा लिइने अदुवा व्यापारीले विभिन्न बाहना बनाउदै किन्न नै नआउने गरेपछि अदुवा घरैमा कुहिन थालेको किसानहरुको गुनासो रहेको छ ।

ग्राहक नआउदा बारीमै अदुवा कुहिन थालेपछी किसान निराश भएको बडिकेदार गाउँपालिका–५का स्थानीयबासी टेकबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्षभरीको आम्दानी अदुवा थियो त्यहि पनि किन्न व्यापारी आउदैनन, बारीमै कुहिने भयो ।’अदुवा किन्न ग्राहक पनि नआउदा तथा किसानले समेत काँचो अदुवाको मुल्य प्रतिकेजी रु ६० तोकेपछि बिक्री बितरणका लागि झनै समस्या भएको किसानको भनाई छ ।मकै र कोदो छाडेर अदुवा खेती गर्दैआएका यहाँका किसानहरु अदुवा बिक्री नभएपछि चिन्तित बनेका छन्। जिल्लाको बडिकेदार, जोरायल, बोगटान फुड्सिल लगायतका गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा मारमा परेको जोरायल गाउँपालिका–६ निरौलीका हिक्मतबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ किसानले मनग्य आम्दानी होला भनेर अन्य खेती छोडेर अदुवा खेती गरेका छन्, अदुवा किन्न ग्राहक नै आउदैन निकै समस्या भयो ।’

यहाँका किसानले उत्पादन गरेको अदुवा जिल्लाको बिपिनगर, जोरायल, खसरेमा भण्डार गरी त्यहाँबाट बिक्री बितरण हुने भएपनि यो वर्ष किसानको बारीबाट नै अदुवा नआएपछि अदुवा भण्डार केन्द्रपनि खाली अवस्थामा रहेका छन् ।खाद्यबाली र तरकारीको विकल्पमा अदुवा लगाएका कृषकहरु अदुवा नै बिक्री नहुन थालेपछि यो वर्ष कसरी घरखर्च चलाउने भन्ने समस्यामा परेको बडिकेदार गाउँपालिका–१ बिपिनगरकी स्थानीय बन्दना विष्ट (कलेल) ले बताउनुभयो ।यतिमात्र नभई किसान आफैले बिक्रीका लागि यहाँका मुख्य बजारमा ल्याउने गरेको अदुवाले बजारका साथै उचित मूल्य नपाउदा झनै समस्या उत्पन्न भएको किसानहरुको भनाइ छ ।

उचित बजार, मुल्य तथा ग्राहक नपाउदा यहाँका किसानको सयौँ किलो अदुवा बारीमै थन्किएको अर्की स्थानीय महिला शान्तिदेबी कलेलले जानकारी दिनुभयो । यहाँका घागल, बर्छैन, लानाकेदारेश्वर, मन्नाकापडी, कोला, स्याली, निरौली, खसरे, चिउरी, भुजाली, सडेखान, छेडा, गैमोडा, जैसिबाज, रिठारा, बुडाकोट , रिसडी लगायतका ठाउँमा व्यवसायिक रुपमा उदुवा उत्पादन गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्