म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलमा भौतिक संरचना थपिँदै



प्रताप बानियाँ,म्याग्दी ।

पछिल्लो समय आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्दै जान थालेको पर्यटकीयस्थल लभ्लीहिलमा भौतिक संरचनाहरु थपिँदै गएका छन् । म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा गाउँ नजिकै रहेको लभ्लीहिल भ्रमण गर्ने पर्यटकहरुलाई लक्षित गरेर भौतिक संरचना निर्माणलाई जोड दिइएको हो ।यसैक्रममा लभ्लहिलमा हालै मात्र एक होटल तथा रेष्टुरेण्ट स्थापना गरी सञ्चालनमा ल्याइएको छ । बेनी नगरपालिकाले पाँच वर्षका लागि मासिक भाडा तिर्नेगरी जग्गा उपलब्ध गराएपछि अहिले लभ्लीहिल क्षेत्रमा होटल बनेको हो । खबराका मानकाजी घिमिरेले नगरपालिकासँगको साझेदारीमा मासिक छ हजार दुईसय रुपैयाँ भाडा तिर्नेगरी जग्गा भाडामा लिएर व्यवसाय सुरु गर्नुभएको छ ।

घिमिरेले ‘लभ्लीहिल भ्यु–टावर होटल एण्ड रेष्टुरेण्ट’ स्थापना गरी सञ्चालनमा ल्याएको बताउनुभयो । ३२ लाख रुपैयाँभन्दा बढी लगानी गरी स्थापना गरिएको होटल एण्ड रेष्टुरेण्टमा बाहिर, भित्र तथा माथिल्लो तलामा गरी करिब ७० जना अटाउन सक्ने क्षमता रहेको उहाँले जानकारी दिनुभयो । रेष्टुरेण्टमार्फत खबरालगायत ग्रामीण क्षेत्रमा उत्पादित स्थानीय एवं अर्गानिक खानाका परिकार तथा खाजाका विभिन्न आइटमहरु खुवाउने योजना रहेको होटलका सञ्चालक समेत रहनुभएका घिमिरेको योजना छ ।अहिले रेष्टुरेण्टमा व्यवस्थापन लगायतका कामहरु भैरहेको सञ्चालक घिमिरेले बताउनुभयो । लभ्लीहिलमा होटल एण्ड रेष्टुरेण्ट स्थापना भएसँगै स्थानीयस्तरमै तीन जनाले रोजगारीको अवसर समेत पाएका छन् । लभ्लीहिल क्षेत्रमा खान र बस्नको लागि होटलको व्यवस्था भएसँगै पर्यटक आगमन बढ्ने अनुमान गरिएको छ । अहिले लभ्लीहिल क्षेत्रमा खासगरी शनिबार तथा विदाको दिन घुम्नका लागि सयौंको सङ्ख्यामा आन्तरिक पर्यटकहरु पुग्ने गर्दछन् ।

सार्वजनिक जग्गाको संरक्षणका साथै पर्यटकीय क्षेत्र लभ्लीहिल पुग्ने पर्यटकहरुलाई लक्षित गरी भौतिक संरचना निर्माण गर्न अनुमति दिइएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्रको भ्रमण गर्ने पर्यटकहरुले चिया नास्ता खान पाउन् भन्ने उद्देश्यले बनाइएको संरचनाको नगरपालिकामार्फत समय समयमा अनुगमन समेत गरिने जानकारी दिनुभयो । नगरपालिका क्षेत्रभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नुका साथै ती क्षेत्रमा आवश्यक पर्ने संरचना निर्माणमा जोड दिइएको बेनी नगरपालिकाले जनाएको छ ।

म्याग्दी सदरमुकाम बेनीदेखि आधा घन्टाको पैदल दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य पुलहाश्रम, केभहिल, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाज लगायतका क्षेत्रहरु देखिन्छन् । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि तथा अन्नपूर्ण हिमाल र सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ ।बेनीबजार आसपासको क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिने सदरमुकाम नजिकको गन्तव्य भएकाले पनि लभ्लीहिल क्षेत्रमा थप भौतिक पूर्वाधारको विकास तथा प्रचारप्रसार भएमा आर्थिक कारोबारका साथै नयाँ वस्तीको समेत सम्भावना देखिन्छ । लभ्लीहिल पुग्नका लागि बेनीदेखि पदमार्ग समेत निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्