थप ३ सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतको २४ करोड सहयोग



नेपाल समाचारपत्र , काठमाडौं ।

ललितपुर र सिन्धुपाल्चोकका थप तीन सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतले २४ करोड सहयोग गर्ने भएको छ ।भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले बुधबार राजधानीमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्राधिकरण र सफल बोलपत्रदाताबीच ठेक्का सम्झौतामा हस्ताक्षर समेत भएको छ । सम्झौता भएका तीन सांस्कृतिक सम्पदा परियोजनाहरुमा ललितपुरस्थित जेष्ठ वर्ण महाविहार तथा सिन्धुपाल्चोकका सुलीझ्याङ गुम्बा र शेरमाथाङ गुम्बा छन् ।इण्डियन नेसनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजले जेष्ठ वर्ण महाविहारको पुनस्र्थापनाका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ भने बाँकी दुई परियोजनाको कार्यान्वयन केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) ले गर्नेछ ।

२०७२ सालको विनाशकारी भुकम्पले क्षति पु¥याएका यी तीन सांस्कृतिक क्षेत्रको पुनर्निर्माण भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत २४ करोढ ६० लाख रुपैयाँको लागतमा हुनेछ ।भारत सरकारले नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण, पुनस्थापना र पुनर्निर्माणका लागि कूल ५० मिलियन अमेरिकी डलर (५ अर्ब ८० करोड रुपैयाँ) सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत अघि बढाइने २८ वटा सांस्कृतिक परियोजना मध्ये ६ वटा परियोजनाको ठेक्का हस्तान्तरण भइसकेको छ ।

यसै क्रममा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गत फागुन १६ गतेका दिन काठमाडौंको जनबहाल स्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनस्र्थापनाका लागि संयुक्त रुपमा भूमि पूजन कार्यक्रम सम्पन्न गरेका छन् ।नेपालको प्राथमिकता अनुरुप लामो समय देखिको आफ्नो अटूट एवम् बहुआयामिक विकास साझेदारीलाई निरन्तरता दिन भारत सरकार कटिबद्ध रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्