खुमलटारको उपाधि जित्ने आस यथावत्



नेपाल समाचारपत्र, काठमाडौं ।

खुमलटार युथ क्लबले जारी ‘सहिद स्मारक बी डिभिजन लिग’ उपाधि जित्ने आस यथावत् राखेको छ ।बुधबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा खुमलटारले ब्वाइज युनियन क्लबलाई ३–० गोल अन्तरले हराएको हो । यो जितसँगै खुमलटारले ९ खेलबाट २२ अंक जोडेको छ । खुमलटारले उपाधितिर अग्रसर भइरहेको सातदोबाटो युवा क्लबलाई कडा टक्कर दिइरहेको छ । एक खेल कम खेलेको सातदोबाटोको पनि २२ अंक भए पनि शीर्ष स्थानमा यथावत् रहेको छ । यसको बावजुद खुमलटारले उपाधिको आस जीवितै बनिरहेको छ ।

खुमलटारको जितमा कप्तान सविन केसीले दुई गोल गरे भने एक गोल आयुष घलानले गरेका थिए । सविनले खेलको १९औं मिनेटमा गोल गर्दै टिमलाई १–० को अग्रतामा राखेका थिए । उनले प्रशान्त अवस्थीले गरेको शानदार क्रसमा गोलको दिशा दिएका थिए । उनले नै ४३औं मिनेटमा गोल गरेर टिमलाई जिततिर अग्रसर गराएका थिए । उनले अनिल खड्काको पासमा व्यक्तिगत दोस्रो गोल गरेर पहिलो हाफमा टिमलाई २–० ले अग्रता दिलाएका थिए ।

आयुषले ७४औं मिनेटमा एक गोल थपेपछि खुमलटारको जित पक्का भएको थियो । उनले अनिल खड्काको पासमा गोल गरेका थिए । ब्वाइज युनियनले गोल फर्काउन नसक्दा हारको सामना गर्नुपरेको थियो । ब्वाइज यो हारसँगै १४ अंकमै रहेको छ । टिम अंकतालिकाको चौथो स्थानमा रहेको छ । यसअघिको खेलमा नयाँ बस्ती युवा क्लबले १–० को अग्रता जोगाउन नसक्दा टुसाल युवा क्लबसँग अंक बाँडेको छ । विवेक गुरूङले ३९औं मिनेटमा गोल गर्दै नयाँबस्तीलाई १–० को अग्रतामा राखेका थिए । नयाँ बस्ती ७०औं मिनेटसम्म यही अग्रतासँगै स्पष्ट ३ अंक जोड्नतिर लागेको थियो । तर, ७१औं मिनेटमा टुसालका एलोन राईले गोल फर्काएपछि खेल १–१ बराबरीमा समाप्त भएको थियो । बराबरीपछि नयाँबस्ती ९ खेलबाट १२ अंक जोडेर छैटौं स्थानमा र टुसाल ९ अंकसहित सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्