युभेन्ट्सको सहज जित



लन्डन, (एजेन्सी) ।

इटालियन सिरी ‘ए’ अन्तर्गतको खेलमा युभेन्ट्सले स्पेजियाविरूद्ध सहज जित आत्मसात् गरेको छ  ।
मंगलबार राति भएको उक्त खेलमा युभेन्ट्सले स्पेजियालाई ३–० गोलअन्तरले सहजै पराजित गरेको हो । घरेलु मैदान एलिएन्ज एरिना टोरिनोमा भएको खेलमा सबै तीनवटै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

युभेन्ट्सको जितमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा र फेडरिको चिइसाले गोल गरेका थिए ।खेलको ६२औं मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्ट्सले अग्रता लिएको थियो । उनले फेडरिको बर्नरडेस्चीको पासमा गोल गरेका थिए । त्यस्तै, खेलको ७१औं मिनेटमा फेड्रिको चिइसाले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । खेल सकिन एक मिनेट बाँकि रहँदा रोनाल्डोले रोड्रिगो बेन्टानकरको पासमा गोल गर्दै युभेन्ट्सलाई ३–० को सहज जित दिलाए । यो जितसँगै तेस्रो स्थानमा रहेको युभेन्ट्सको २४ खेलबाट ४९ अंक भएको छ । पराजित स्पेजियाको भने २५ अंक रहेको छ ।

रोनाल्डो अर्को कोसेढुंगामा

क्रिस्टियानो रोनाल्डो स्पेजियाविरूद्ध गोल गर्दै करियरमा अर्को एउटा कोसेढुंगामा पुगेका छन् । करियरको .६ सयौं लिग खेलमा गोल गरेपछि रोनाल्डोले जारी सिजनमा युभेन्ट्सका लागि व्यक्तिगत २०औं गोल गरे । उक्त गोलसँगै रोनाल्डो पछिल्ला १२ सिजनअन्तर्गत हरेक सिजनमा कम्तीमा २० गोल गर्ने युरोपका शीर्ष ५ लिगका पहिलो खेलाडीसमेत बने ।

प्रतिक्रिया दिनुहोस्