तेजीमाया र जानुका क्वार्टरफाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं ।
प्लाटिनियमकी तेजीमाया गुरूङ र तारकेश्वर बक्सिङ क्लबकी जानुका थापा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’को क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको महिला ४८ केजी तौल समूहमा तेजीमायाले चितवनकी कल्पना रावल र सोही तौल समूहमा जानुकाले कोट्स्य भैरवकी दीपा शाहीलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् । महिला ४८ केजीमै बोसिगाउँकी माया क्षत्रीले रसुवाकी रोनिता सिंहलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाइन् । अर्को खेलमा नुवाकोटकी प्रगति थापाले काभ्रेकी रोशनी लावतीलाई पराजित गरिन् । महिला ५१ केजी तौल समूहमा नुवाकोटकी प्रतिभा शाहीले बक्समान्डुकी सपना तामाङ र प्लाटिनियमकी केनिका राईले रामेछापकी रोजिना रञ्जितलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।

यसैगरी, पुरूषकै ४९ केजी तौल समूहमा नुवाकोटका मोहन गुरूङ, चितवनका सुरज गुरूङ, काभ्रेका धमेन्द्र राई तारकेश्वरका सुरज ओली अन्तिम आठमा पुगे । पुरूषकै ५२ केजीमा काभ्रेका रोशन मलिक, रसुवाका यानव राई, सिन्धुलीका डेभिड तामाङ, बक्समान्डुका वान्डी शेर्पा, चन्डोलका रमन अली, बोसिगाउँका महेन्द्रविक्रम ठकुरी र बक्समान्डुका सुरज महर्जनले पनि अन्तिम आठमा स्थान बनाए ।

सागपदक विजेता बक्सरहरू सम्मानित :
वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उद्घाटन कार्यक्रममा १३औं सागका पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ । काठमाडौंको स्युचाटारमा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले १३औं सागका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्नुभयो । कार्यक्रममा स्वर्ण विजेतालाई १० हजार, रजत पदक विजेता खेलाडीलाई ७ हजार र कांस्य पदक विजेता खेलाडीलाई जनही ५ हजार रूपैयाँबाट सम्मान गरिएको थियो । २०७६ मंसिरमा नेपालमै आयोजना भएको १३औं सागमा बक्सिङले तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्