सचिन संगीत र चित्रकलामा सँगसँगै



दुई दशकदेखि संगीत तथा चित्रकलालाई निरन्तर सँगसँगै बढाइरहेका छन् पियानोवादक तथा चित्रकार सचिन बज्राचार्य। सानै उमेरदेखि नै चित्रकला तथा संगीतमा रुचि राख्ने उनी विद्यलायस्तरदेखि नै चित्रकला तथा संगीतसम्बन्धी कार्यक्रम तथा प्रतिस्पर्धामा सहभागी हुँदै आएको बताउँछन्।संगीतमा व्यावसायिकरूपमा भने एसएलसी परीक्षापश्चात् साथीहरुसँग मिलेर ब्यान्ड खोलेर विभिन्न कार्यक्रममा प्रस्तुति दिन थालेका उनले संगीतलाई निरन्तरता दिने क्रममा द अग्लिज, द भाइब्ज ब्यान्ड, रिदम र दीपक बज्राचार्यको ब्यान्ड गरी नेपालका चर्चित ब्यान्डमा पियानोवादकका रूपमा आबद्ध भएर काम गरेका छन्।

हाल फ्रिक स्ट्रीट ब्यान्डमा पियानोवादकका रूपमा सक्रिय उनी भन्छन्– ‘संगीत र चित्रकला दुवै धेरै समय खर्चनुपर्ने क्षेत्र हुन्। दुवैमा स्थापित हुन लगातार मेहनत र समय दिनुपर्छ। यी दुवै क्षेत्रलाई एकसाथ सँगसँगै लैजानु सजिलो कुरा होइन।’ दुवै क्षेत्रमा सँगै बढाइरहेका उनी भन्छन्– ‘मेरो रुचि नै यी दुवैमा भएकाले कुनै एकलाई छोडेर अर्को मात्र अंगाल्ने अवस्था भएन। दुवै कामलाई एकैसाथ लैजान समय व्यस्थापनको हिसाबले गाह्रो काम थियो। तर, रुचिका करण सँगसँगै लगिरहेको छु। दुवैमा धेरै समय लाग्छ। संगीतमा पनि पर्फमेन्स अघि प्राक्टिस गर्न समय चाहिन्छ भने पेन्टिङका लागि पनि उत्तिकै समय दिनुपर्नेहुन्छ। पर्फमेन्स र प्रयाक्टिसबाट फुर्सद मिलाएर पेन्टिङहरु बनाउने गरेको छु।’ मेहनत र निरन्तरता दिइरहन सके कमाइको हिसाबले पनि यी क्षेत्र राम्रो रहेको सचिनको अनुभव छ। भन्छन्– ‘पर्फमेन्स भइरहे र पेन्टिङहरु बेच्न सके दुवै क्षेत्रबाट राम्रो कमाइ हुन्छ।’चित्रकलामा मेहनत गरेका कारण सचिनले कक्षा ९ मा पढ्दै गर्दा रानी ऐश्वर्याको जन्मजयन्तीका अवसरमा चित्रकलामार्फत पुरस्कार जितेको थिए। नेपाली धर्म संस्कृतिलाई माया गर्ने उनले त्यति बेला नेपालको कला संस्कृति झल्कने खालका चित्र क्यानभासमा उतारेका थिए।

त्यही संस्कृतिप्रेम झल्कने चित्रका कारण उनले तत्कालीन रानीको हातबाट पुरस्कार ग्रहण गर्ने अवसर पाएका थिए। ‘मेरा लागि त्यो अविस्मरणीय क्षण थियो। अहिले रानीको हातबाट चाहेर पनि पुरस्कार लिन पाइँदैन। त्यो पेन्टिङ गर्न थालेपछिको सबैभन्दा ठूलो खुसीको क्ष्ँण थियो।’ –सचिन सम्झन्छन्।सचिनले आफूले जानेको चित्रकला र संगीतकला बालबालिकालाई पनि सिकाउँदै आएका छन्। आरम्भ नामक संस्थामार्फत बाललबालिकालाई चित्रकला तथा संगीत हप्ताको दुई दिन सिकाउँदै आएका उनी लकडाउनका कारण अवरुद्ध भएको कक्षा पुनः सञ्चालनको तयारीमा छन्। ‘आफूले जानेको कुरा अरूलाई पनि सिकाऔं भन्ने सोचले बालबालिकालाई संगीत र चित्रकला सिकाउन थालेको हुँ। पहिलेजस्तै अहिलेका बच्चामा पनि यी कुरामा उत्तिकै रुचि पाएको छु। अहिलेका बच्चालाई अभिभावकले नै सिकाउन ल्याउनुहुन्छ। अहिले संगीत र चित्रकला सिक्नु अनिवार्य जस्तै भएको छ।’ –उनी भन्छन्।

विभिन्न ब्यान्डका साथ कन्र्सट तथा सांगीतिक कार्यक्रममा लाइभ प्रस्तुति दिएका र धेरै गीतमा संगीत दिएका सचिन भन्छन्– ‘लाइभमा काम गरे पनि पियानो बजाउने हो। रेकडिङमा पनि बजाउने नै हो तर लाइभ पर्फमेन्समा दर्शकको प्रतिक्रिया तुरुन्त पाउन सकिन्छ र उनीहले रमाइलो गरेको देखेर आफूलाई पनि रमाइलो लाग्छ भने रेकर्डिङमा साथीहरुमाझ काम गरिने भएकाले त्यसमा पनि छु्ट्टै किसिमको मज्जा हुन्छ।’

प्रतिक्रिया दिनुहोस्