डढेलो नियन्त्रणको व्यावहारिक अभ्यास



सल्यान, (नेस)  ।

सल्यानमा वन डढेलो नियन्त्रणसम्बन्धी अभिमुखीकरण तथा नमुना प्रदर्शन गरिएको छ । बुधबार दिउँसो खैराबाङमा मन्दिर नजिकैको वनमा आफैले आगो लगाएर नेपाली सेनाको टोलीले नियन्त्रणको प्रयोगात्मक अभ्यास गरेको थियो ।

वनमा लागेको डढेलो नियन्त्रण गर्न उनीहरुलाई भ्याईनभ्याई थियो । नमुना अभ्यासमा आगो नियन्त्रणमा ल्याउन कोही अग्नि नियन्त्रण रेखा बनाएको देखिन्थे भने, कोही आगो निभाउन विभिन्न उपाय अपनाएका देखिन्थे । आगो निभाउन वन कर्मचारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सामुदायिक वनका पदाधिकारीहरु विभिन्न सामग्री लिई आगो निभाउन खटिएका थिए । सबैजना विभिन्न उपाय अपनाउँदै उनीहरु आगो निभाउनमा व्यस्त थिए । यो एउटा नमुना अभ्यास मात्र थियो । गर्मीयामसँगै वनमा लाग्ने डढेलो नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरणपश्चात् सहभागीले वनमै गई प्रयोगात्मक अभ्यास गरेका हुन् ।
डिभिजन वन कार्यलय सल्यानको ओयाजना तथा जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सल्यानको समन्वयमा शारदा नगरपालिका ११ खैराबाङमा नमुना अभ्यास गरिएको हो ।

अभ्यासमा वन डढेलो नियन्त्रणमा प्रयोग हुने सामग्रीको परिचय, डढेलो नियन्त्रण गर्ने तरिका, आगोबाट बच्ने उपाय, स्थानीय स्रोत सामग्रीको समुचित प्रयोगबारे जानकारी गराइएको डिभिजन प्रमुख रमेश गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार डढेलो लागे त्यसको नियन्त्रण कसरी गर्ने भन्नेबारे प्रत्यक्षरूपमा जानकारी गराउन स्थलगत अभ्यास गराइएको हो ।कार्यक्रममा नेपाली सेनाका सेनानी दिनेश भट्टराई, नेपाल प्रहरीका प्रमुख गोविन्द थापा, सशस्त्र प्रहरीका प्रमुखलगायतले आगलागीबाट हुने क्षति, त्यसमा सेना प्रहरीको भूमिकालगायतका बारेमा वन उपभोक्तालाई जानकारी गराउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्