धमाधम पक्रेर कारागार र दण्ड



हेटौंडा, (नेस)

मकवानपुर प्रहरीले विभिन्न अभियोगमा अदालतले कारागार सजाय सुनाएका ३ जनालाई पक्राउ गरी अदालतकै आदेशले कारागार चलान र तोकिएको दण्ड गरेको छ ।

जिल्ला अदालत मकवानपुरको फैसलाले चेक अनादर मुद्दामा १ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी हेटौंडा–३ बस्ने वर्ष २५ का आदर्श पुडासैनीलाई मंगलबार हेटौंडा–३ बाट पक्राउ गरी जरिवाना भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको छ ।जिल्ला अदालत धादिङको २०६१ जेठ १८ गतेको फैसलाले सवारीज्यान मुद्दामा ११ दिन कैद र २ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी हेटौंडा–११ बस्ने वर्ष ४८ का विनोद बानियाँलाई बुधबार हेटौंडा–११ बाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको छ ।

जिल्ला अदालत पर्साको २०६४ साउन २१ गतेको फैसलाले सवारीज्यान मुद्दामा २ हजार जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी हेटौंडा–१६ बस्ने वर्ष ४९ का दिलबहादुर कोइरालालाई पनि बुधबार हेटौंडा–१६ बाटै पक्राउ गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएर जरिवाना भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्