पर्यटकको आकर्षण बन्दै छहरा झर्ना



विमल विष्ट, डोटी ।

माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जंगल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले कसको मन लोभिँदैन र ? यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झरना जोरायल गाउँपालिका–२ छतिवनमा पर्दछ । पछिल्लो समय ती झरना पर्यटक आकर्षणको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।हिजोआज यो झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख रोजाइमा पर्न थालेको छ । जिल्लाभित्रकै मात्रै नभएर अहिले यो झरनामा रमाउनका लागि सुदूरपश्चिम प्रदेशभरिकै नागरिक आउन थालेको स्थानीयबासी बताउँछन् ।

कोभिड–१९ जोखिम घटेसँगै अहिले सो झरनामा रमाउन तथा अवलोकनका लागि आउने पर्यटकको संख्या दिनहुँ बढ्दै जान थालेको जोरायल गाउँपालिका–२ पात्तडाका स्थानीयबासी रोहित बोहराले बताउनुभयो । उहाँले भन्नुभयो– ‘कोरोना कहर पनि घट्दै गएपछि अहिले झरनामा रमाउन दिनहुँ सयौं पर्यटक आउन थालेका छन्, पर्यटक आउन थालेपछि पूरै छहरा क्षेत्र रमणीय बन्दै गएको छ ।’छहरा अवलोकन तथा भ्रमणका लागि अहिले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटीलगायत क्षेत्रका स्थानीयबासी आउन थालेपछि भीड बढ्न थालेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिका अध्यक्ष भरत कुँवरले जानकारी दिनुभयो । उक्त क्षेत्रमा पछिल्लो समय छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले प्याराग्लाइडिङ, छहरा झरनामा पर्यटकका लागि क्यानोइङको व्यवस्था गरिएपछि पर्यटक दिनहुँ बढ्न थालेका हुन् । छहरा क्षेत्रमा रमाउनका लागि अहिले दैनिक सयौं नागरिक आउने गरेको अर्का स्थानीयबासी सिद्ध जेठाराले बताउनुभयो । झरनामा रमाइलो गर्न आउने पर्यटक तथा यहाँका स्थानीयबासीले झरना, प्याराग्लाइडिङ तथा क्यानोइङ गरेको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै यसको प्रचारप्रसारमा समेत जुटेका छन् ।

विगतमा खासै नाम नसुनेको यो झरनाको नाम अहिले सामाजिक सञ्जालका कारण सबैको मुखमुखमा झुन्डिँदै गएको बुडरका स्थानीयबासी लोकबहादुर मल्लले बताउनुभयो । नाम मात्रै सुनेका र झरनाको तस्वीर मात्रै देखेका नागरिक पनि अहिले यो झरनासम्म पुग्ने गरेका स्थानीयबासी बताउँछन् ।जिल्ला सदरमुकाम सिलगढी तथा कैलालीको अत्तरियाबाट करिब तीन÷चार घण्टाको गाडी यात्रामा पुगिने यो झरनामा प्रायः कैलाली र कञ्चनपुरका नागरिक बढी आउने गरेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले जनाएको छ । कतिपय युवा समूह नै बनाएर यो झरनाको अवलोकन गर्न पुग्ने गरेका छन् । पर्यटक आउने तथा एक÷दुई दिन यतै बस्ने गरेका कारण अहिले बुडर, गैरा, धारापानीलगायत क्षेत्रमा रहेका होटेल व्यवसाय पनि राम्रै फस्टाउँदै गएको होटेल व्यवसायी विजय गाहामगरले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘कोरोनाले यहाँका होटेल सुनसान थिए, छहरा झरना अवलोकन तथा भ्रमणका लागि आउने पर्यटकका कारण अहिले यहाँका होटेल व्यवसाय फस्टाएको छ ।’जोरायल गाउँपालिकाले छहरा क्षेत्रसम्म पुग्नका लागि कच्ची सडकको व्यवस्था गरेको छ । कच्ची सडकमा पानी जम्ने हुँदा छहरा पुग्न केही समस्या हुँदै आएको छ । यहाँका छहरा झरनालगायत अन्य पर्यटकीयस्थललाई व्यवस्थित गर्दै गाउँमा पर्यटक भित्र्याउनका लागि सडकसहित पूर्वाधार विकास निर्माणका कार्य गर्न थालिएको सो गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।छतिवनसहित जिल्लामा रहेका सम्पूर्ण पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा सडक विस्तार गरिए यहाँ आन्तरिक र बाह्य पर्यटक पनि भित्रिने सम्भावना उच्च रहेको छ । बाह्य पर्यटक बढेपछि आर्थिक अवस्थालगायतका क्षेत्रमा सुधार हुने निकै सम्भवना रहेको पर्यटक व्यवसायी दीपकबहादुर खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्