ताप्लेजुङका आगलागीपीडितलाई पाँच लाख



काठमाडौं, (नेस) ।

गृहमन्त्री रामबहादुर थापा बादलले ताप्लेजुङका आगलागीपीडितलाई प्रतिपरिवार पाँच लाख दिने बताउनुभएको छ ।गृह मन्त्रालयमा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीलाई कार्यविधि संशोधन गरेर हिमाली भेगमा दिइने आवास निर्माणका लागि भूकम्पपीडित तथा बाढीपीडितसरह पाँच लाख प्रतिपरिवार दिने बताउनुभएको हो ।

मन्त्री थापाले आगलागीपीडितका लागि तत्काल प्रतिपरिवार १५ हजार, ८० बटा कम्बल र ५० वटा टेन्ट दिने बताउनुभयो ।ज्ञापनपत्र बुझाउन गएका प्रतिनिधिसभा सदस्य भट्टराईले पुनःस्थापनाका लागि भूकम्पपीडितसरह राहत उपलब्ध गराउने कुरामा विशेष जोड दिन आग्रह गर्नुभएको थियो । उहाँले सोलुखुम्बुको मोडलमा खानेपानी तथा दमकलको समेत काम हुने गरी पानी ट्याङ्कीको व्यवस्था, पीडितहरुलाई मर्का नपर्ने गरी व्यवस्थित शहरको व्यवस्था गरिदिन गृहमन्त्री थापासँग माग गर्नुभएको थियो ।

यता काठमाडौंमा रहेका ताप्लेजुङबासीबाट आर्थिक संकलन गर्न प्रतिनिधिसभा सदस्य भट्टराईको संयोजकत्वमा एक समिति निर्माण गरेको छ । सो समितिको सह–संयोजकमा पूर्व संविधान सभा सदस्य पासाङ शेर्पा र प्रदेशसभा सदस्य टंक आङबुहाङ रहनुभएको छ । सदस्यमा क्रमशः चित्रगुप्त साँवा, डम्बरबहादुर तुम्वाहाम्फे, टंक श्रेष्ठ, रमेश बराल, बलबहादुर तामाङ, युवराज गुरुङ, तारादेवी श्रेष्ठ, अग्नि पौडेल, नन्दु बनेम, पदमजंग आङबुहाङ रहेका छन् ।

पूर्वमन्त्री भट्टराईले ५ लाख र प्रदेशसभा सदस्य आङबुहाङले ३ लाख रकम दिएर आर्थिक संकलन शुरु गरेको बताउनुभएको छ ।मंगलबार ताप्लेजुृङको मेरिङदेन–३ दोभान बजारमा भएको आगलागीमा ४९ घर जलेर ध्वस्त भएको छ र त्यसबाट ७९ परिवारको सम्पूर्ण धनमाल नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्