दिवाखाजाले अन्त्य गर्‍यो विद्यार्थीबीचको भेदभाव



सिर्जना पन्त, बागलुङ ।

जैमिनी नगरपालिकाका शिशिर थापा मगर स्थानीय दुर्गा प्राथमिक विद्यालयको कक्षा १ मा अध्ययन गर्नुहुन्छ । कात्तिक महिनाको अन्तिमबाट विद्यालय जान थालेका शिशिरलाई शुरुको दिनमा बानी बसाल्न निक्कै गाह्रो पर्‍यो  ।शिशिरका आमा रीमा थापाले उहाँलाई बोकेर विद्यालय लैजानुहुन्थ्यो । बिस्कुट, मिठाइ र चाउचाउको प्रलोभन देखाएर सानो छोरालाई विद्यालय छोडेर घर फर्कंदा उहाँको मन पटक–पटक अमिलो हुन्थ्यो । तर, विद्यालयले मंसिर महिनाबाट दिवाखाजा कार्यक्रम सञ्चालन गरेपछि उहाँलाई अहिले यो समस्या छैन ।

विद्यालयले मंसिर महिनाबाट नियमितरूपमा ५४ जना बालबालिकालाई खाजा खुवाउँदै आएको विद्यालयका प्रधानाध्यापक रविप्रसाद सापकोटा बताउनुहुन्छ । विद्यालयले बालबालिकालाई खाजा खुवाउन शुरु गरेपछि अभिभावकसमेत उत्साहित भएर सहयोग गर्न थालेको उहाँको भनाइ छ । ‘पछिल्लो समय जन्मदिन, विवाहको वर्षगाँठको अवसरमा अभिभावकले स्वैच्छाले एकदिनको खाजा खुवाउनेसमेत गर्न थाल्नुभएको छ’, सापकोटाले भन्नुभयो– ‘विद्यार्थी जस्तै अभिभावक पनि उत्साहित हुँदा नगरपालिका र विद्यालयको अभियानलाई थप सहयोग पुगेको छ ।’कोरोना महामारीका कारणले चैतदेखि देशमा लकडाउन भएपछि लामो समयसम्म बन्द रहेका विद्यालय कात्तिक महिनाबाट नियमित सञ्चालनमा आउन थाले । विद्यालय नियमित सञ्चालनमा आए पनि कोरोनाको डर र गाउँघरमा खेल्ने बानी लागिसकेका स–साना बालबालिकालाई विद्यालयमा ल्याउनका लागि हम्मे–हम्मे पर्‍यो । यही अप्ठ्यारोका बीचमा दिवाखाजा कार्यक्रमले भने अभिभावक र विद्यालयलाई विद्यार्थीलाई विद्यालयमा नियमित आउने वातावरण बनाउन सहयोग गरेको छ ।

जैमिनी नगरपालिका–१० को जनता माध्यमिक विद्यालयको कक्षा २ मा अध्यनरत चित्रबहादुर नेपाली विद्यालयमा नियमित नआउने, आइहाले पनि बीचमै विद्यालयबाट भागेर घर जाने विद्यार्थीमा पर्नुहुन्थ्यो । तर, पछिल्लो ३ महिनामा नेपाली १ दिन पनि विद्यालयमा अनुपस्थित भएको र बीचमै कक्षा छोडेर भागेको रेकर्ड नभएको उहाँका कक्षा शिक्षिका पुतली थापा बताउनुहुन्छ ।परिवारको आर्थिक अवस्था कमजोर हुनु, आर्थिक अवस्था राम्रो भए पनि सामुदायिक विद्यालयमा अध्यायन गर्ने बालबालिकालाई अभिभावकले खाजा नपठाउँदा विद्यार्थी नियमित विद्यालय नआउने र आइहाले पनि बीचमै घर जाने गरेको थापाको भनाइ छ । ‘कसैको अभिभावकले खाजा पठाउनुहुन्छ, कसैको बिहान–बेलुका घरमै छाक टार्न मुस्किल छ’, थापाले भन्नुभयो– ‘दिवाखाजा कार्यक्रम सञ्चालनमा आएपछि कुनै विद्यार्थीले खाएको कसैले टुलुटुलु हरेर बस्नुपर्ने दिनको समेत अन्त्य भएको छ ।’तर, जैमिनी नगरपालिकाले मंसिर महिनाबाट नगरपालिकाका सबै सामुदायिक विद्यालयको बालविकास देखि कक्षा ५ सम्म दिवाखाजा कार्यक्रम सञ्चालन गर्न बजेट पठाउन थालेपछि नगरको लक्ष्यअनुसार विद्यालयमा विद्यार्थीको नियमितता र निरन्तरतामा उल्लेख्य सुधार आएको छ ।

नगरपालिकाका ८० विद्यालयका २ हजार ९ सय ६६ र ६८ वटा बालविकास केन्द्रका ६ सय ९८ गरी ३ हजार ६ सय ६४ बालबालिकालाई दिवाखाजा खुवाउने गरी प्रतिदिन १५ रुपियाँका दरले बजेट छुट्याएको जैमिनी नगरपालिकाका नगर शिक्षा अधिकार खेम आचार्यले बताउनुभयो । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन र भर्ना भएका विद्यार्थीलाई पनि नियमित विद्यालय आउने वातावरण बनाउनका लागि दिवाखाजा कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ छ । दिवाखाजा कार्यक्रम सञ्चालनमा आएपछि आर्थिक अवस्था कमजोर भएका, दलित जनजातिको बाहुल्यता रहेको जैमिनी नगरपालिकामा शिक्षण प्रक्रियालाई प्रभावकारी बनाउँदै अभिभावक र परिवारको आर्थिक बोझ पनि कम हुने आचार्य बताउनुहुन्छ ।विद्यालयले स्थानीय उत्पादनलाई समेत प्रोत्साहन पुग्ने गरी कोदो, चामल, चना र अण्डाका परिकार विद्यार्थीलाई खुवाउने गरेका छन् ।

आइतबार कोदाको हलुवा, सोमबार चामलको सेलरोटी, मंगलबार चना र अण्डा, बुधबार कोदाको हलुवा, बिहीबार पुरी–तरकारी र शुक्रबार चना–अण्डा खुवाउने गरेको जनता माध्यमिक विद्यालयका प्रधानध्यापक खगराज शर्माले बताउनुभयो ।३ सयभन्दा बढी विद्यार्थी रहेको जनता माध्यमिक विद्यालयले बालविकासदेखि ५ कक्षासम्मका १ सय ३१ जना बालबालिकालाई नियमित खाजा खुवाउँदै आएको। अभिभावकले छोराछोरीलाई खाजा नपठाउने, कसैकसैले पठाइहाले पनि टाठोबाठो बच्चाले बाटैमा खोसेर खाइदिने गरेको भए पनि विद्यालयमै खाजा खुवाउन थालेपछि हुँदा खाने र हुने खाने विद्यार्थी बीचमा देखिने विभेदसमेत अन्त्य भएको प्रधानाध्यापक खगराज शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्