सराहनीय कार्य



कोरोना संक्रमण बिरुद्धको खोप विश्वका १ सय १ मुलुकले भित्र्याउन नसकेको अवस्थामा नेपालमा भने भित्र्याएर पनि दोस्रो चरणको खोप धमाधम लाउन शुरु भैसकेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, शव व्यवस्थापन टोली, एम्बुलेन्स चालक लगायतका व्यक्तिहरुले खोप लगाएसँगै लक्षित खोप बचेपछि पत्रकार, युएन एजेन्सी, विभिन्न मुलुकका दूतावासका कूटनीतिज्ञ र उनीहरुका परिवारका साथ कर्मचारीहरुलाई पहिलो चरणको ख बर्गमा राखी खोप सञ्चालन गरियो । यसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सफल अभियानका रुपमा लिनुपर्छ । अर्कातिर, खोप अभियानमा कोही कसैलाई जटिल समस्या नआएको र सामान्य टाउको, ज्यान दुख्ने र ज्वरो आउने भएपनि यसबाट कोही कसैमा जटिल समस्या आएन । सामान्य प्रतिक्रिया देखाउँनु खोपले सही ढंगले काम गरेको छ भन्ने संकेत भएको विज्ञहरुले बताउँदै आएका छन् ।

पहिलो चरणको क र ख गरि बर्गीकरण सहितको खोप अभियानमा ४ लाख २९ हजार डोज खोप लगाइयो । पहिलो चरणमा भारतको शेरम इपिष्टच्यूटद्वारा उत्पादित कोभिशिल्ड खोप २०७७ माघ ८ गते भारत सरकारले उपहार स्वरुप १० लाख डोज उपलब्ध गराएको थियो । नेपाल सरकारले पहिलो चरणको खोप २०७७ माघ १४ गतेदेखि लगाउन शुरु भरेको थियो । पहिलो चरणको खोप चालु रहेकै अवस्थामा नेपाल सरकारले भारत सरकारसँग पुनः २० लाख डोज कोभिशिल्ड खरिद गरेकोमा १० लाख डोज यही फागुन ९ गते नेपाल भित्र्याई तत्काल प्रयोगमा ल्याउनु सकारात्मक पक्ष हो । ज्येष्ठ नागरिकहरुलाई खोप लगाउन तोकिएको मितिभन्दा तीन दिन अघिबाट सांसद तथा मन्त्रीहरुलाई अनिवार्य खोप लगाउँने व्यवस्था गर्नुले जनमानसमा कोरोना विरुद्धको खोप नेताले त लगाए हामीले पनि लगाउँदा राम्रो हुने रहेछ भन्ने सन्देश जानेछ । छिमेकी बलियो र मनकारी भयो भने अर्को छिमेकी पनि सुरक्षित महसुस गर्छ भन्ने कुराको उदाहरणका रुपमा भारत सरकारले कोरोना विरुद्धको खोप नेपाललाई प्राथमिकतामा राखी उहार स्वरुप प्रदान गरेकोले पुष्टि गर्छ ।

नेपाललाई भारतले एउटा असल मित्रका रुपमा आफ्ना नागरिकले खोप पाउँदा नेपालीले पनि पाउँनुपर्छ भनेर सकारात्मक व्यवहार मात्र देखाएन उपहार नै दिएर विपदका समयमा सघायो । भारत सरकारले सहयोग स्वरुप खोप उपलब्ध गराउने निर्णय गरेलगत्तै नेपालको औषधि व्यवास्था विभागले स्वीकृति पनि प्रदान ग¥यो र स्वीकृति पाएको तीन दिनमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य मन्त्री त्रिपाठीको पहलमा खोप नेपाल भित्रियो । यी सबै कार्र्य प्रशसनीय रहे । यता चीन सरकारले पनि नेपाललाई ५ लाख डोज खोप उपहार स्वरुप उपलब्ध गराउने निर्णय गरेसँगै नेपाल औषधि व्यवस्था विभागले स्वीकृति दिएको छ, यद्यपि खोप हालसम्म आइपुगेको छैन । यसरी नै विश्व स्वास्थ्य संगठन, गाभीले पनि नेपाललाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने प्रतिवद्धता गरेका छन् । यो सकारात्मक कार्यको थालनी र उदाहरणीय कामका लागि जिम्मेवार नेतागण धन्यवादका पात्र छन् । राम्रा कार्यलाई सराहना र कमजोरीप्रति औंला ठड्याउने काम हरेक सचेत नागरिकको भूमिका निर्वाह गर्नु सबैको कर्तव्य पनि हो ।

प्रतिक्रिया दिनुहोस्