नौ वर्षिया बालिका अफ्रिकाको सर्वोच्च शिखरमा



नयाँदिल्ली, (एजेन्सी) ।

भारतको आन्ध्र प्रदेशका एकजना नौ वर्षीया बालिकाले अफ्रिकाको सर्वोच्च शिखरको सफल अरोहण गरेको भारतीय सञ्चार–माध्यमले जनाएको छ । अनन्तपुर निवासी कादापाला रिथभिका नामक ती बालिकाले २५ फेब्रुअरीमा अफ्रिकाको ‘माउन्ट किलिमन्जारो’ को सफल आरोहण गरेको ‘दि हिन्दू न्युज’ले जनाएको छ । माउन्ट किलिमान्जारो सुषुप्त ज्वालामुखी पहाड हो ।

कक्षा दुईमा अध्ययनरत उनले सागरको सतहबाट ५ हजार ६ सय ८१ मिटर अग्लो शिखरको टुप्पोमा पुग्न आफ्नो पिता र पथप्रदर्शकको सहयोग लिएकी हुन् । उनी तान्जानियामा रहेको यो पहाडको चुच्चोमा पुग्ने अहिलेसम्मकै सबैभन्दा कम उमेरको व्यक्ति बन्न सफल भएकी छन् । यस सफलताका लागि उनलाई सम्बन्धित निकायबाट आधिकारिक प्रमाण पत्र प्रदान गरिएको छ ।

न्यु इन्डियन एक्सप्रेसका अनुसार रिथभिकाका पिता कादापाला शंकर अनन्तपुरको विशेष आलम्पिक्स भारतको ग्रामिण विकास कोषको क्रिक्रेट प्रशिक्षक तथा खेलकुद संयोजक हुन् । आइएस अधिकारी गान्धम चन्द्रुदुले उनको साहशिक पर्वतारोहणको प्रशंसा गर्दै यस अभियानका लागि सरकारी खेलकुद परिषद् कोषबाट २ लाख ८९ हजार भारु उपलब्ध गराएका थिए ।किलिमान्जारो चढ्नुअघि उनले तेलंगानाको रक क्लाइम्बिंग स्कुलबाट लेभर १ को र लद्धाखबाट लेभल २ को तालिम प्राप्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्