भागरथी हत्या आरोपित दिनेशको अन्तिमपटक म्याद थप



बैतडी, (नेस) । 

हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट चौथो तथा अन्तिमपटक म्याद थप भएको छ । बुधबार जिल्ला अदालत बैतडीबाट अनुुसन्धान नसकिएको भन्दै प्रहरीले थप ५ दिनका लागि अनुमति मागेको हो ।दिनेशमाथि चडेपानीकै १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको आरोप लागेको छ ।

उनले उक्त आरोप स्वीकारिसकेका छन् । गत माघ २१ गते भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेशलाई फागुन ४ गते पक्राउ गरेको थियो । पक्राउ गरेसँगै दिनेशविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको हो । अनुसन्धानका लागि प्रहरीले फागुन ५ पहिलोपटक, फागुन ९ गते दोस्रो, फागुन १४ गते तेस्रो र बुधबार चौथोपटक म्याद थपेर अनुमति मागेको हो ।नाबालकको हकमा प्रहरीले हिरासतमा राखेको २१ दिनभित्र अनुसन्धान सक्नुपर्ने कानुनी व्यवस्था छ । सोहीअनुसार अन्तिम तथा चौथोपटक म्याद थप भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । ‘अनुसन्धान अन्तिम चरणमा पुगेको भए पनि सम्पन्न हुन सकेको छैन’, उहाँले भन्नुभयो– ‘एक÷दुई दिनभित्रै अनुसन्धान सकेर सरकारी वकिललाई प्रतिवेदन बुझाउँछौं।’ हाल प्रहरीले घटनामा भट्टको संलग्नतालाई पुष्टि गर्ने थप आधारहरु खोज्दै अनुसन्धान गरिरहेको हो ।

प्रहरीले बुझाएको प्रतिवेदनलाई सरकारी वकिलले अदालतलाई बुझाउने जनाइएको छ । दिनेशको डीएनए परीक्षणका लागि काठमाडौं प्रयोगशालामा पठाइएको र रिपोर्ट नआएकाले त्यसलाई पछि अनुसन्धानको प्रतिवेदनमा थप्दै जाने प्रहरीले बताएको छ । यसअघि भागरथीको पनि भजाइनल स्बाव विधिविज्ञान प्रयोगशाला पठाइएको भए पनि रिपोर्ट भने आएको छैन ।जिल्ला अस्पताल बैतडीमा गरिएको शव परीक्षण रिपोर्टमा भने भागरथीको बलात्कारपछि हत्या भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्