श्रद्धाञ्जली सभामै देउवा–पौडेलबीच जुहारी !



नेपाल समाचारपत्र, काठमाडौं  ।

–जिम्मेवारीबाट कांग्रेस भाग्दैन : देउवा
–औकात र हैसियतभन्दा बढी आकांक्षा नराखौं :  पौडेल

नेपाल कम्युनिस्ट पार्टी दुई कित्तामा बाँडिएसँगै नेपाली कांग्रेसले कुन कित्तालाई सहयोग गर्ला भन्ने जिज्ञाशा सर्वत्र चर्चाको विषय बनेको छ । कांग्रेसले भने यस विषयमा आधिकारिक धारणा बनाइसकेको छैन । पार्टीका शीर्ष नेताहरूले आफू अनुकूलका धारणा दिँदै आएका छन् ।पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जलीसभामा सहभागी भएका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सत्ताको विषयलाई लिएर जुहारी चलेको छ । नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १०औं दिनको पुण्यतिथिमा चितवनमा आयोजित शोकसभामा उहाँहरुबीच जुहारी चलेको हो ।

सोही श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताउनुभएको छ । उहाँले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस नभाग्ने बताउनुभएको हो । सभापति देउवा बोल्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताएपछि पौडेलको जवाफमा सभापति देउवाले काँधमा जिम्मेवारी आए नभाग्ने बताउनुभएको हो ।उहाँले भन्नुभयो– ‘कांग्रेसले पदको लोभ पनि गरेको छैन । टाउकामा आयो भने भाग्ने पनि छैन । प्रधानमन्त्री पाऊँ पनि भनेको छैन । आयो भने भाग्नेवाला पनि छैन ।’देउवाले पौडेललाई सानो चित्त नगर्न र विशाल हृदय राख्न आग्रह गर्दै अबको राजनीतिमा जे आउँछ, त्यो बेहोर्दै जानुपर्छ भन्नुभयो । उहाँले रानाभाटको राजनीतिक संघर्षको चर्चा गर्दै एकपटक मन्त्री बनाउने आफ्नो चाहना पूरा नभएको बताउनुभयो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नेपाली कांग्रेस प्रतिपक्षमा भएको भन्दै जुन हैसियतमा संसद्मा छ त्यसैअनुसार अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘विपक्षी दलको सही भूमिका कांग्रेसले निर्वाह गर्नुपर्छ ।’नेता पौडेलले स्व. एकनाथ रानाभाटले निष्ठावान्रुपमा पार्टीमा समर्पण गरेको भन्दै त्यो समर्पण र त्यागको भावना प्रस्तुत गर्न सक्नुपर्छ भन्नुभयो । ‘आम नेपालीले भरोसा गर्ने ठाउँ भनेको कांग्रेस मात्र रहेको छ’, उहाँले भन्नुभयो– ‘कांग्रेसले त्यहीअनुसारको आचरण र व्यवहार देखाउनुपर्छ ।’ नेता पौडेलले विकृतिबाट लोकतन्त्रलाई बचाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘वास्तवमा कसैले आफ्नो हैसियत र औकातभन्दा बढी आकांक्षा राख्नु महत्वकांक्षा हो र यो विकृति हो ।’ लोकतन्त्रमाथि देशी विदेशी षड्यन्त्र भइरहेको पौडेलको भनाइ थियो ।देउवाले अरू पार्टीको भन्दा आफ्नै पार्टीको मान्छे प्रधानमन्त्री हुँदा पार्टीलाई फाइदा हुने भएकाले चिन्ता नगर्न पौडेललाई आग्रह गर्नुभएको थियो । ‘चिन्ता नगर्नुस् रामचन्द्रजी तपाईंले, म पार्टीकै मान्छे प्रधानमन्त्री हुने हो, अरूभन्दा आफ्नै पार्टीको प्रधानमन्त्री भए फाइदै होला, तपाईं पनि खुसी हुनुहोला जस्तो लाग्छ मलाई त।

’ –उहाँले भन्नुभयो ।कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालको लोकतन्त्र स्थापनामा रानाभाटले पु¥याएको योगदान सराहनीय रहेको बताउनुभयो । कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाट, कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, गण्डकी प्रदेश सभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, बागमती प्रदेश सभाका प्रतिपक्षी दलका नेता इन्द्र बानियाँ, कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, कांग्रेस नवलपरासीका सभापति विष्णु सापकोटा र कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेले स्व. रानाभाटको राजनीतिक भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो । रानाभाटको यही फागुन १० गते ६६ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । उहाँ प्रतिनिधिसभाका पूर्वसांसद हुनुहुन्थ्यो ।
बक्स

प्रतिक्रिया दिनुहोस्