सल्यान वनमा सल्किएको आगो बस्तीमा पुग्दा ३ घर जलेर नष्ट



न्युज अफ नेपाल, सल्यान ।

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ झिम्पे दुदिल्या बस्तीमा भीषण आगलागी भएको छ । आगलागीबाट दुइवटा खरको छाना र एउटा टिनको छाना भएको घर जलेर नस्ट भएका छन् । मङ्गलबार दिउँसो स्थानीय रैजेखोला चौखेढुंगा वनबाट सुरु भएको आगो मानव बस्तीमा पुग्दा स्थानीइ ददिराम खत्रीका दुइ घर र मोहलाल शर्माका एउटा घर जलेर नस्ट भएका हुन् ।


आगलागीबाट घरमा भएको अन्नपात, तत्ताकपडा लगाएतका सामान जलेर नस्ट भएका छन् । त्यस्तै वनबाटै फैलिएको आगलागीबाट स्थानीय ज्ञान बहादुर वलीका बाहिर बाँधेका दुइवटा बाख्रा मरेका छन् । आगलागीले वन क्षेत्र सखाप समेत पारेको वडाध्यक्ष नेव बहादुर खड्काले जानकारी दिनुभयो ।

दिउँसो ३ बजेबाट सुरु भएको आगलागी राती १० बजेसम्म सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयहरुले नियन्त्रणमा लिएपनि फेरी आज बिहानैबाट वनक्षेत्रमा आगलागी सुरु भएको उहाँले बताउनु भयो । भिरालो घाँसे भुमी भएकोले आगलानी नियन्त्रण गर्न कठिनाइ भएको उहाँले बताउनु भयो ।

डढेलो नियन्त्रणको व्यावहारिक अभ्यास 

सल्यानमा वन डढेलो नियन्त्रण सम्बन्धी अभिमुखिकरण तथा नमुना प्रदर्शन गरिएको छ । आज दिउसो खैराबाङमा मन्दिर नजिकैको वनमा आफैले आगो लगाएर नेपाली सेनाको टोलीले नियन्त्रणको प्रयोगात्मक अभ्यास गरेका थिए । वनमा लागेको डढेलो नियन्त्रण गर्न उनीहरुलाई भ्याईनभ्याई थियो ।

नमुना अभ्यासमा आगो नियन्त्रणमा ल्याउन कोही अग्नी नियन्त्रण रेखा बनाएको देखिन्थे भने, कोही आगो निभाउन विभिन्न उपाय अपनाएका देखिन्थे । आगो निभाउन वन कर्मचारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सामुदायिक वनका पदाधिकारीहरु विभिन्न सामग्री लिई आगो निभाउन खटिएका थिए । सबैजना विभिन्न उपाय अपनाउँदै उनीहरु आगो निभाउनमा व्यस्त थिए ।

यो एउटा नमुना अभ्यास मात्र हो । गर्मीयामसँगै वनमा लाग्ने डढेलो नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरणपश्चात सहभागीले वनमै गई प्रयोगात्मक अभ्यास गरेका हुन् । डिभिजन वन कार्यलय सल्यानको ओयाजना तथा जिल्ला प्रशासन कार्यलय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सल्यानको समन्वयमा शारदा नगरपालिका ११ खैराबाङमा नमुना अभ्यास गरिएको हो ।

अभ्यासमा वन डढेलो नियन्त्रणमा प्रयोग हुने सामग्रीको परिचय, डढेलो नियन्त्रण गर्ने तरिका, आगोबाट बच्ने उपाय, स्थानीय स्रोत सामग्रीको समुचित प्रयोगबारे जानकारी गराइएको डिभिजन प्रमुख रमेश गीरीले जानकारी दिनु भयो । उहाँका अनुसार डढेलो लागे त्यसको नियन्त्रण कसरी गर्ने भन्नेबारे प्रत्यक्ष रुपमा जानकारी गराउन स्थलगत अभ्यास गराइएको बताउनु भयो ।

कार्यक्रममा नेपाली सेनाका सेनानी दिनेश भटराई, नेपाल प्रहरीका प्रमुख गोबिन्द थापा, सशस्त्र प्रहरीका प्रमुख लगायतले आगलागी बाट हुने क्षेति, त्यसमा सेना प्रहरीको भुमिका लगायतका बारेमा वन उपभोक्ताहरुलाई जानकारी गराउनु भएको थियो । गर्मी तथा सुख्खायामा शुरु भएसँगै वन क्षेत्रमा हुने वन डढेलो नियन्त्रणका लागि अभिमुखीकरण गरिएको हो । अभिमुखीकरणमा वन डढेलोको कारकतत्व, कारण, व्यवस्थापन, रोकथाम र नियन्त्रणबारे जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्