शहरीकरण, जनघनत्व र प्रविधिको प्रयोगले अपराधिक घटनामा वृद्धि

महानगरीय प्रहरी प्रभाग, बालकुमारी ललितपुरको भवनको उद्घाटन



न्युज अफ नेपाल, ललितपुर

महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले बढ्दो शहरीकरण, जनघनत्व र उच्च प्रविधिको प्रयोगले अपराधको संख्या दिनानुदिन वृद्धि भएको बताउनुभएको छ ।

महानगरीय प्रहरी प्रभाग, बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय भवनको बुधबार उद्घाटन गर्दैै उहाँले सो कुरा बताउनुभएको हो । बढ्दो अपराधलाई न्यूनीकरण गर्न सोही अनुपातमा प्रहरीलाई आधारभुत भौतिक सुविधा र प्रविधि प्रयोगमा दक्ष तुल्याउनुपर्ने बताउँदै अतिरिक्त महानिरीक्षक पालले  प्रभागको भवन निर्माण यही दिशातर्फको कदम रहेको धारणा राख्नुभयो । नयाँ भवनबाट उत्कृष्ट प्रहरी सेवा प्रदान भई स्थानीय समुदायको साझेदारीमा समाजमा शान्ति सुरक्षा र सु–व्यवस्था कायम गर्ने कार्यको लागि सहयोगी सिद्ध हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नवनिर्मित भवनबाट प्रहरीले प्रवाह गर्ने सेवा उच्च हुनुपर्ने जोड दिँदै स्मार्ट सिटीकोको एउटा पाटो सुुरक्षा रहेको पनि विचार व्यक्त गर्नुभयो ।समारोहमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डिप्रसाद निरौलाले नवनिर्मित भवनले प्रहरी कर्मचारीमा नयाँ उर्जा दिई प्रहरीको कार्य सम्पादन अझ बढी प्रभावकारी हुने उल्लेख गर्नुभयो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले आधारभुत भौतिक सुविधाको अभावका बाबजुढ प्रहरीले शान्ति सुरक्षा कायममा अहोरात्र खटिरहेको बताउँदै प्रहरीको उचित बन्दोबस्तोको लागि प्रहरी मुख्यालयले निरन्तर ध्यान दिँदै जाने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा प्रहरी उपरीक्षक प्रज्वल महर्जनले धन्यवाद ज्ञापन तथा प्रहरी नायव उपरीक्षक ई. रोशन सारु मगरले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सो भवन राष्ट्रिय पुन ः निर्माण प्राधिकरणको १ करोड ७१ लाख १५ हजार ८ सय ८८ रुपैयाँ ६३ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । करिब ४२८२ दशमलब ४८ वर्गफिट क्षेत्रफलमा निर्मित साढे २ तले उक्त भवनमा कार्यालय प्रमुख कक्ष, व्यारेक, भान्साकोठा, थुनुवा कोठा सहित जम्मा ११ वटा कोठा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्