पर्वतको विकट गाउँमा भित्रियो एम्बुलेन्स



पर्वत, (नेस)  । 

पर्वतको एक विकट गाउँमा प्रवासी नेपालीको सहयोगमा एम्बुलेन्स भित्रिएको छ । बेलायतको पैयुँखोला मगर समाज यूकेले एम्बुलेन्स सहयोग गरेको हो । ३९औं मगर दिवसको अवसर पारेर हुवासमा आयोजित कार्यक्रममा पैयुँवासीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।प्रवासमा रहेका पैयुँखोलावासीमार्फत संकलित १४ लाख रुपियाँमा (भन्सार छुटसहित) एम्बुलेन्स खरिद गरी समुदायलाई प्रदान गरिएको पैयुँखोला मगर समाज यूकेका अध्यक्ष धनबहादुर थापाले जानकारी दिनुभयो ।

सामाजिक उत्तरदायित्व बोधले पैयुँखोलावासीलाई एम्बुलेन्स सहयोग गरिएको उहाँले बताउनुभयो । समाजका सचिव नेत्र आलेले बिरामी पर्दा गाउँवासीले सास्ती खेप्नुपरेकाले संस्थामार्फत एम्बुलेन्स प्रदान गरिएको बताउनुभयो । समाजले विगतमा पनि विभिन्न सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि सक्दो सहयोग गर्ने उनको भनाइ छ । पैयुँखोला समाज यूकेका आजीवन सदस्य एवं सल्लाहकार शहवीर आलेले एम्बुलेन्स समुदायलाई हस्तान्तरण गर्नुभएको थियो ।

यस क्षेत्रका बासिन्दा बिरामी हुँदा कुस्मा, वालिङ र पोखरासम्म पुग्नुपर्छ । गाउँको स्वास्थ्यचौकीमा भरपर्दो सेवा नहुँदा बिरामी बाहिरी जिल्लासम्म जानुपर्ने बाध्यता छ । यस्तो अवस्थामा एम्बुलेन्स अत्यावश्यक रहेको गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताउनुभयो । गाउँपालिका पनि एउटा एम्बुलेन्स सञ्चालन गर्ने योजनामा रहेको जानकारी अध्यक्ष तिवारीले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्