अभिभावकले नै गर्छन् विद्यालय अनुगमन



वासुदेव शर्मा, जाजरकोट  ।

शैक्षिक सुधारका लागि विद्यालयहरूले अनेकन उपाय अपनाउने गरेका हुन्छन् । कसरी विद्यार्थीले पढाइमा ध्यान दिन्छन् र शिक्षकले पनि विद्यार्थीलाई कसरी सहज तथा सरल तरिकाले शिक्षा दिन सक्छन् भन्ने उपायको एक विद्यालयले नौलो तरिका अपनाएको छ । सोहीअनुरूप चन्द्रज्योति आधारभूत विद्यालयले हप्ताको एक दिन पाठ्य सामग्रीसहित अनिवार्यरूपमा अभिभावकले विद्यालयको अनुगमन गर्नुपर्न बाध्यकारी नियम बनाएको छ ।

जाजरकोटको छेडागाड नगरपालिका–१२ मा रहेको उक्त विद्यालयको नियमअनुसार अभिभावक पनि हप्तामा कम्तीमा एक दिन विद्यालयमा पुग्ने गरेका छन् । विद्यालयमा पुग्ने गरेका अभिभावकहरुले स्थानीयस्तरमा निर्माण गरेका सुर्केथैलीलगायत शैक्षिक सामग्रीहरु नासोका रूपमा दिने गरेका छन् । अभिभावकको विद्यालयमा अनुगमनको सक्रियता बढेपछि शिक्षक र विद्यार्थीहरुले कक्षामा नियमितता दिन थालेका छन् ।
स्थानीय सरकार, शैक्षिक सुधारका लागि काम गरिरहेका सरोकारवाला निकाय, बालबालिक शिक्षक अभिभावकहरुको शैक्षिक सुधारमा सक्रियता बढेपछि विद्यालय नमुना बन्दै गएको स्थानीयको भनाइ छ । विद्यालयको कक्षा कोठामा भएका शैक्षिक सामग्रीले विद्यार्थीको शिक्षण सिकाइ क्रियाकलापमा परिवर्तन र विद्यालयको मुहार फेरिएको प्रधानाध्यापक खत्रीले बताउनुभयो । गुणस्तरीय सिकाइको वातारण तयार भएपछि बालबालिकाहरुको सिकाइ उपलब्धि र पढाइमा सहजता हुनुका साथै विद्यार्थीहरुको सिकाइ प्रभावकारी भएको शिक्षकहरुको भनाइ छ ।

यसै गरी, पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटद्वारा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेभ द चिल्ड्रनको सहयोगमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले चन्द्रज्योति आधारभूत विद्यालयमा विद्यार्थीहरुलाई सीपयुक्त बनाउन ‘दश सामग्री दश सीप’ को कार्यशाला गोष्ठी सञ्चालन गरेको थियो । गोष्ठीपश्चात् शैक्षिक सामग्री नभएका कक्षाकोठामा स्थानीयस्तर निर्माण गरेका शैक्षिक सामग्री राख्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्