जंगलभित्रै काठ चिरान, काठसहित तस्कर पक्राउ



गोकुल घोरसाइने, बारा ।

जंगलभित्रै औजार लगेर सालको गोलिया चिरान गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय निजगढ र सिगौल रेन्ज पोस्टबाट गएको सुरक्षाकर्मीको संयुक्त टोलीले निजगढ नगरपालिका–१ बाट मंगलबार दिउँसो चिरान काठसहित १ जना तस्करलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलिया र सिगौल रेन्ज पोस्टका वन अधिकृत रघुनाथ दासको नेतृत्वमा गएको संयुक्तरूपमा छापा मारेको थियो ।

टोलीले तस्करहरुको चिरान अखडामा छापामारी गरी ३० क्विफिट सालको चिरान काठसहित रौतहटको गुजरा नगरपालिका–२ बस्ने वर्ष ४५ को मेघीलाल चौधरीलाई नियन्त्रणमा लिएको हो । ४÷५ जनाको समूहमा रहेका तस्करहरु सुरक्षाकर्मीको टोली पुगेपछि फरार बनेको निरीक्षक थपलियाले बताउनुभयो । घटनास्थलबाट २ थान आरा, २ बन्चरो र खुर्पा पनि बरामद भएको वन अधिकृत दासले बताउनुभयो । पेसेवर तस्करहरुले जंगलमा चिरान गरेर काठ तस्करी गर्ने गरेको सूचनाको आधारमा बढाइएको निगरानीपछि चिरान अखडा पत्ता लगाएर छापामारेको दासको भनाइ छ ।

उहाँका अनुसार २४सै घण्टा जंगलमै बसेर तस्करहरुले काठ चिरान गरी तस्करी गर्ने गरेका छन् । यहाँको काठ बाराको निजगढ, कोल्हबी, रौतहटको कटहरिया, चन्द्रपुर जस्ता शहर बजार र सीमापारि भारतसम्म पु¥याएर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिएको काठसहित थप अनुसन्धानका लागि लामालाई जिल्ला वन कार्यालय सिमरामा बुझाएको प्रहरी निरीक्षक थपलियाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्