सूचना बिना खानेपानी बन्द गर्दा उपभोक्ता मारमा



उत्तम नेपाल, भद्रपुर ।

खानेपानी पाइपलाइन विस्तारको नाममा संस्थानले अग्रिम सूचनाबिनै पानी बन्द गर्न थालेपछि नगर क्षेत्रका सयौं उपभोक्ता मारमा परेका छन् । नेपाल खानेपानी संस्थान भद्रपुरको लापारबाहीले नगर क्षेत्रका उपभोक्ता मारमा परेका हुन् । संस्थानले पानी बन्द गरेपछि नगर क्षेत्रका २६ सय बढी उपभोक्ता यसको प्रत्यक्ष मारमा परेकका छन् ।

चाराआली–केचना सडक खण्डअन्तर्गत भद्रपुरको सगरमाथा चोकदेखि झापा चोकसम्म सडक दुवै किनारमा नयाँ खानेपानी लाइन विस्तार गर्दा यो समस्या आएको हो । संस्थानले यसअघि पनि पटक–पटक उपभोक्तालाई सूचना नै नदिई मनपरी ढंगले पानी बन्द गर्दै आइरहेको थियो । संस्थानले पानी बन्द गर्नुअघि एक÷दुई दिनअघि नै सार्वजनिकरूपमा सञ्चारमाध्यमबाट त्यस विषयमा उपभोक्तालाई जानकारी गराउनुपर्ने स्थानीय उपभोक्ता तथा झापा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष सन्तोष धमलाले बताउनुभयो । तर, संस्थानको लापरबाहीले गर्दा घरमा पानी भण्डारण गर्न नपाएका उहाँको आरोप छ । स्थानीय सञ्चारमाध्यमबाट सूचना जारी गर्नुभन्दा अघि नै पानी बन्द भइसकेको उहाँको बताउनुहुन्छ ।

पाइपलाइन विस्तार भइरहेकाले पानी बन्द गर्नुपरेको जवाफ संस्थानका प्रमुख सन्तोष रौनियारको छ । ‘सूचना पहिलै दिनुपर्ने हो, हामीबाट गल्ती भयो, पानी विस्तारको काम मंगलबार गर्ने भनिएको थियो, तर सोमबार नै गर्नुपर्ने बाध्यताका कारण समयमा सूचना प्रवाह गर्न सकिएन ।’ उहाँले भन्नुभयो । उपभोक्ताको समस्यालाई मध्यनजर गरी समय मिलाएर दिनको दुई घण्टा पानी दिने प्रयासमा लागिपरेका उहाँको भनाइ छ । राति पनि पाइप लाइनको काम भइरहेको उहाँले जनाउनुभयो ।करिब ५ किलोमिटर सडक खण्डको दुवैपटि पाइपलाइन विस्तार भइसकेको संस्थानका पानी वितरण शाखा प्रमुख राजु बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्