गोर्खा वारियर सुटिङ फ्लोरमा जाँदै



निर्माता निर्देशक मिलन चाम्सको निर्माण निर्देशनमा निर्माणाधीन फिल्म गोर्खा वारियर–२ आगामी फागुन २७ गते सुटिङ फ्लोरमा जाने भएको छ।मंगलबार राजधानीको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा आयोजित एक समारोहबीच शाहसिक गोर्खा सैनिकप्रति बिगुल फुकेर सम्मान गर्दै गोर्खा वारियर–२ को निर्माण घोषणा गरिएको हो।

गोर्खा वारियरको छायांकन कार्य केही ढिला हुने भएकाले त्यसको सिक्वेल गोर्खा वारियर–२ छायांकन शुरु गर्न लागिएको र यसको रिलिजपछि मात्र गोर्खा वारियर निर्माण गरिने निर्माता निर्देशक चाम्सले बताए।कार्यक्रममा युद्धमा सहादत प्राप्त गरेका गोर्खा सैनिकप्रति फूलगुच्छा चढाएर श्रद्धासुमन अर्पण गरिएको थियो। निर्देशक चाम्सले अहिलेसम्म गोर्खाली सेनाका बारेमा विभिन्न व्यक्तिले व्यक्त गरेका भनाइ र गोर्खा सैनिकका साहसिक कार्यबारे श्रव्य–दृश्यसहित कार्यक्रममा प्रकाश पारे। गोर्खा सैनिकका नभनिएका हजारौं कथा भएको र जसमध्ये एउटा वास्तविक कथालाई यो फिल्ममा उतार्न लागेको उनले बताए। गोर्खा वारियर ४ शृंखलासम्म निर्माण गर्ने घोषणा चाम्सले गरे। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले फिल्मले नेपाल र नेपालीलाई गोर्खा सैनिकका रूपमा श्रव्य–दृश्यमार्फत विश्वमा चिनाउने विश्वास व्यक्त गरे।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने फिल्म चाम्स स्वयंले निर्माण गर्न लागेका हुन् भने सुरेश राई र पूर्ण लिम्बु सहनिर्माता रहनेछन्। फिल्म नेपालसहित मलेसिया र बेलायतमा छायांकन गरिने भएको छ। फिल्ममा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर वाङदेल, बुद्धि तामाङ, कविता आले, विरुप घले, सारा राई, मनोज केसीलगायतको मुख्य भूमिका रहनेछन्। फिल्ममा रीतेश चाम्सलाई नवनायकका रूपमा प्रस्तुत गरिने भएको छ।साहसिक गोर्खाली सैनिकका बारेमा चलचित्र निर्माण हुन लागेको र आफू पनि गोर्खा सैनिकको अफिसरका रूपमा यो चलचित्रमा प्रस्तुत हुन पाउँदा खुसी लागेको अभिनेता विजय लामाले कार्यक्रममा बताए।

यस्तै नवअभिनेता रीतेश चाम्सले निकै तयारीपछि यो फिल्ममार्फत डेब्यु गर्न लागेको जनाउँदै उत्कृष्ट प्रस्तुति दिने प्रतिबद्धता जनाए। अभिनेत्री रेविका गुरुङले फिल्ममा आफूलाई मिलन चाम्सले नै ल्याएको र यो फिल्ममो मुख्य नायिकाको जिम्मेवारी दिँदा झनैे खुसी लागेको बताइन्। हास्य अभिनेता बुद्धि तामाङले आफू होचो कदको भए पनि गोर्खाली सैनिकका रूपमा दर्शकलाई फरक काम देखाउन लालायित भएको बताए। आगामी २०२२ को शुरुमा विश्वव्यापी रिलिज गरिने भनिएको यो फिल्ममा शैलेन्द्र खनाल ‘शरद’ को गीत, एलिश कार्कीको संगीत, राजेशपायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बिसीको सम्पादन, सुदीप बरालको छायांकन निर्देशन र हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ।

प्रतिक्रिया दिनुहोस्