भोजपुर मेयरकप ब्याडमिन्टन आजबाट



भोजपुर, (नेस) ।
भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता बुधबारबाट शुरू हुने भएको छ ।प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भई सकेको छ । प्रतियोगिताका लागि रेफ्री अनुप शाक्यको नेतृत्वमा म्याच कन्ट्रोल एवं अन्तर्राष्ट्रिय अम्पायर सुमित शाक्य र अम्पायर केदार धिमाल सोमबार भोजपुर आईपुगेका छन् ।

यस्तै, आज हुने प्रतियोगिताका लागि पूर्वाञ्चलका जिल्लाबाट खेलाडीहरुका साथै भोजपुरका नम्बर एक खेलाडी रत्नजित तामाङ, नवीन श्रेष्ठ, पविन लिनथेप, पेम्बा शेर्पा, दिवस शंकर, सुजन श्रेष्ठ, प्रनिश सिंह ठकुरी पनि भोजपुर आइपुगेका छन् ।यस्तै, भोजपुरमै रहेकी महिला नम्बर एक खेलाडी नङशल तामाङ, धेरै लामो समयदेखि घरायसी कारण प्रतियोगितामा उपस्थित हुन नसकेका पूर्व राष्ट्रिय खेलाडी विवेक श्रेष्ठ, विशाल तामाङलगायत खेलाडीहरू आफ्नै स्थानमा प्रतियोगिता हुन लागेको र सहभागिता जनाउन पाउने कारण हर्षित भएका छन् । धेरै लामो समयदेखि घरायसी कारणले प्रतियोगितामा सहभागिता जनाउन नपाइरहेको अवस्थामा आफ्नै जिल्ला त्यसमाथि आप्mनै घर नजिक प्रतियोगिता हुन लागेकोले आफ्नो खेल कौशलता प्रदर्शन गर्न पाउँदा निकै उत्साहित भएको छु खेलाडी विवेकले बताए ।

राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठको नेतृत्वामा राष्ट्रिय च्याम्पियन विवेक श्रेष्ठ, नविन श्रेष्ठ राष्ट्रिय खेलाडीहरू सहित उर्जासिल युवाहरु सम्मिलित निर्वाचित जिल्ला संघले पहिलो पटक जिल्लामा यति ठूलो प्रतियोगिता आयोजना गर्न गईरहेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुका साथै सरादेवी तामाङ्ग, विकास श्रेष्ठ, नङ्गशल तामाङ्ग, विवेक श्रेष्ठ, रत्नजित तामाङ्ग, नविन श्रेष्ठ जस्तार राष्ट्रिय च्याम्पियनहरु उत्पादन गरेको भोजपुरमा ठुला प्रतियोगिताहरू नभइरहेको अवस्थामा यस ब्याडमिन्टन प्रतियोगिताहरूले खेलाडी उत्पादनमा निकैनै सहयोग पुग्ने भोजपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले बताए ।भोजुरमा खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले पहिलोपटक जिल्ला भित्रका मात्रै यु १३ को ब्वाईज र गल्र्सको प्रतियोगिता गर्न गईरहेको छ । साना खेलाडीहरुलाई ब्याडमिन्टन खेल प्रति उत्साहित गर्दै भोजपुरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले यु–१३ को ब्वाइज र गल्र्सको प्रतियोगितालाई पनि समावेस गरेको श्रेष्ठले बताए । सदरमुकामस्थित भोजपुर बहुमुखी क्याम्पस प्राङ्गणमा रहेको भोजपुर जिल्ला ब्याडमिन्टनको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यु–१७ र यु–१३ ब्वाइज तथा गल्र्स, गरि ९० खेलाडीहरूले कुल ७ बिधामा प्रतिस्पर्धा गर्नेछन् ।

करिब १२ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगलका शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार, पुरुष एकलमा शीर्ष तीन स्थान प्राप्त गर्नेले २५ हजार, १५ हजार र ७ हजार ५ सय, महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले २० हजार, १० हजार र ५ हजार तथा यु – १७ ब्वाइज तथा गल्र्स तर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले १५ हजार, ८ हजार र ४ हजार नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यु–१३ का खेलाडीह्रूलाई प्रोत्साहन स्वरूप शीर्ष तीनका खेलाडीहरूले नगद ५ हजार, ३ हजार र १५ सयसहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएका छन् ।प्रतियोगितालाई भोजपुर नगरपालिकाले ७ लाख सहयोग गरेको छ भने अन्य खर्च विभिन्न संघ संस्था, देश तथा विदेशमा रहेका ब्याडमिन्टन खेल प्रेमीहरूको सहयोग रहने अध्यक्ष श्रेष्ठले जानकारी गराए । प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्