मध्यपुरको लगातार दोस्रो जित



नेपाल समाचारपत्र, काठमाडौं  ।

मध्यपुर युथ एसोसिएसनले जारी ‘सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता’मा लगातार दोस्रो जित हासिल गरेको छ ।मंगलबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मध्यपुरले श्रीकुमारी क्लबलाई २–१ ले हराएको हो । टिमलाई जित दिलाउन कैलाश लामिछाने खत्री र धीरज श्रेष्ठले गोल गरेका हुन् । श्रीकुमारीका लागि आशिस राईले एक गोल गरेका थिए ।

यो जितसँगै मध्यपुर रेलिगेसन क्षेत्रबाट माथि उक्लँदै नवौं स्थानमा रहेको छ । टिमले ८ खेलबाट ७ अंक जोडेको छ । यस्तै, श्रीकुमारी पराजित भए पनि ७ अंकसहित आठौं स्थानमा कायमै रह्यो ।खेलमा श्रीकुमारीले पहिलो अग्रता लिएको थियो । आशीषले ४०औं मिनेटमा गोल गरेर टिमलाई १–० को अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटमै मध्यपुरका लागि कैलाशले बराबरी गोल फर्काएका थिए । दोस्रो हाफमा धीरजले ४८औं मिनेटमा गोल गरेपछि मध्यपुरले खेलमा २–१ को अग्रता लिएको थियो । यसपछि दुवैतर्फ गोल नभएपछि मध्यपुरले स्पष्ट ३ अंक जोडेको थियो ।

यस्तै, दोस्रो खेलमा बाँसबारी क्लबले पुल्चोक स्पोर्टस् क्लबलाई २–० गोलअन्तरले हरायो । दुवै गोल निशान सुनारले दोस्रो हाफमा गरेका थिए । उनले ४८आंै मिनेट र ६९औं मिनेटमा गोल गरेका थिए । योसँगै बाँसबारी ८ खेलबाट १८ अंक जोड्दै तेस्रो स्थानमा यथावत् रहयो । बाँसबारी शीर्ष स्थानको सातदोबाटो र दोस्रो स्थानको खुमलटारसँग क्रमशः ४ र १ अंकले पछि छ । यस्तै, पराजित पुल्चोक २ अंकसहित रेलिगेसन क्षेत्रमा रहेको छ । पुल्चोकले यो समेत गरी ८ खेलमा ६ खेलमा हार बेहोरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्