जहाँ ‘नो पार्किङ’,त्यहीं निर्बाध पार्किङ



नेपाल समाचारपत्र, हेटौंडा ।

हेटौंडा, बागमती प्रदेशको स्थायी राजधानी हो । यसो हुनाले यहाँको सडकमा सवारी व्यवस्थापन चुस्त हुनुपर्ने हो । तर, स्थानीय र सवारीचालकहरुले बारम्बार आग्रह गर्दा पनि सवारीको समुचित व्यवस्थापन हुन सकेको छैन ।पछिल्लो समय विशेषतः कार्यालय समयमा हेटौंडा मुख्य बजार क्षेत्रमा विभिन्न प्रकारका सवारीसाधनको चापले ट्राफिक जाम हुने गरेको छ । साँघुरो सडक, अव्यवस्थित पार्किङ र मुख्य बजार क्षेत्रबाट ठूला सवारीसाधन गुड्नाको भीडले प्रदेश राजधानीलाई नै कुरूप बनाएको छ ।

‘पार्किङ दुईपांग्रे’ लेखिएको स्थानमा जुनसुकै समयमा हेर्ने हो भने दुईपांग्रे सवारीसाधन पार्क गरेको बिरलै देख्न पाइन्छ । दिनमा दर्जनौं चारपांग्रे निजी सवारी सोही स्थानमा पार्किङ गरेर राखिएका हुन्छन् । न ट्राफिक प्रहरीको ध्यान गएको छ, न त सवारीचालक नै टेर्छन् । हरेक दिन यसरी नै हेटौंडा बजारमा ट्राफिक व्यवस्थापन फितलो हुँदै गएको छ । पसलका व्यवसायीले आफ्नै पसलअगाडि व्यक्तिगत सवारी रोक्दा असर पर्ने गुनासो सवारीचालकहरुले गरेका छन् । पार्किङस्थल नभएका कारण जहाँ पनि रोक्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ ।सामान किन्न आउनेको सवारीसाधन पार्किङ गर्ने उचित स्थान नभएका कारण जहाँ खाली छ, त्यहीं राख्नुपर्ने बाध्यता रहेकोे चालकहरु बताउँछन् । बटुवाहरु भने हेटौंडा बजारमा खुलारुपमा हिँड्न नपाएको गुनासो गर्छन् । जहाँ ‘नो पार्किङ’ लेखिएका बोर्ड राखिएका छन्, त्यहीं पार्किङ गर्ने सवारीचालकको लापरबाहीका कारण बजार क्षेत्रमा अस्तव्यस्तता छाएको ट्राफिक प्रहरीकै गुनासो छ ।

हेटौंडा उपमहानगरले अव्यवस्थित पार्किङका कारण आलोचना खेपिरहनुपरेको छ । उपमहानगरपालिकाले बजारका मुख्य सडकलाई ‘पार्किङ निषेध’ गरे पनि सोको व्यावहारिक कार्यान्वयन गर्न सकेन । व्यस्त बजारलाई पार्किङ निषेध क्षेत्र बनाइए पनि कार्यान्वयन गर्न भने उपमहानगर चुकेको हो ।जिल्ला ट्राफिक कार्यालय मकवानपुर प्रहरी नायब निरीक्षक गोकर्ण नेपाल ट्राफिक व्यवस्थापनमा सक्दो प्रयास गरेको बताउनुहुन्छ । पछिल्लो समय हेटौंडामा सवारीसाधन थपिएका कारण जहाँ पनि पार्किङ गर्ने बानीका कारण समस्या परेको उहाँको कथन छ ।‘ट्राफिक व्यबस्थापनका लागि योजना बनाएका छौं । उक्त योजना अब कार्यान्वयनमा आउनेछ’, उहाँले भन्नुभयो– ‘स्थानीय निकायले पनि ध्यान दिनु जरुरी देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्