रेसुंगा क्षेत्रमा फुलेन लालीगुराँस



अनिल खत्री, गुल्मी ।

यति बेला गुल्मी जिल्लाको रेसुंगा क्षेत्रमा लालीगुराँस फुलेर रमणीयस्थल बन्ने समय हो । तर, यस वर्ष लालीगुराँस फुल्ने मौसम शुरु भए पनि गुराँस नफुल्दा पर्यटकको चहलपहल छैन । प्रसिद्ध धार्मिक, ऐतिहासिक एवं पर्यटकीयस्थल रेसुंगा क्षेत्रको वनैभरि राताम्य फुलेका गुराँससँग रमाउन र फोटो खिचाउन जाने आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल बढ्ने गर्दथ्यो ।

फागुन, चैत महिनामा गुराँस फुल्ने समयमा पनि गुराँस नफुल्दा चहलपहल नभएको हो । धार्मिक तथा पर्यटकीय महत्वसँग जोडिएको रेसुंगामा लालीगुराँसका कारण पनि निकै प्रख्यात मानिथ्यो । रेसुंगा क्षेत्रमा ठूला र सुक्न लागेका लालीगुराँसका बोटहरु भएकाले पनि फुल्न छोडेका हुन् ।भएका बोटहरु सुक्दै जाँदै गर्नु र नयाँ बोटहरु बारे चासो नदिनुले पनि लालिगुराँसमा संरक्षणको अभाव खट्किएको छ । यो समयमा लालिगुराँस फुलेर रातम्मे बन्ने रेसुंगा क्षेत्र उराठिलो देखिएको छ ।यस वर्ष हिउँदमा पानी नपरेकाले लालिगुराँस कम फुलेको रेसुंगा संरक्षण समितिका सदस्य कृष्णप्रसाद पन्थी बताउनुहुन्छ ।

यस वर्ष फुलेका लालीगुराँस पनि साना कोपिला रहेको उहाँको कथन छ । रेसुंगा क्षेत्रमा कति प्रकारका लालीगुराँस छन् भन्ने तथ्यांक नभएको पन्थीको भनाइ छ ।भौगोलिक उचाइगत विविधताले ठूलो घना जंगल रहेको यस क्षेत्रमा कालो ऐंसेलु, मजिठो, सतुवा, नागबेलीसहित १ सय ६१ प्रजातिका जडीबुटी रहेको तथ्यांकमा उल्लेख छ । पछिल्लो समय जलवायु परिवर्तनको प्रभावले पनि लालीगुराँसलगायतका अन्य क्षेत्रमा प्रभाव परेको हो ।

प्रतिक्रिया दिनुहोस्