मादी नदीलाई थुनेर ताल बनाइँदै



मिला दरै, तनहुँ ।

मादी नदीलाई थुनेर सदरमुकाम दमौलीमा ताल बनाइने भएको छ । व्यास नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताल निर्माण कार्य अघि बढाएको छ । व्यास नगरपालिका–६ शिशाघाटदेखि दमौलीसम्म १८ किलोमिटर दूरीलाई समेटेर ताल निर्माण गरिने नगरपालिकाले जनाएको छ । नदीलाई व्यवस्थित गरी मादी नदी बहुउद्देश्यीय परियोजनाअन्तर्गत विस्तृत प्रारम्भिक प्रतिवेदन गुरुयोजना निर्माणको काम अगाडि बढाइसकेको छ ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेले मादी नदीलाई तालको रुपमा परिणत गरी पर्यटन, जलविद्युत्, माछापालन, सिँचाइलगायतको माध्यमबाट स्थानीयबासीको आर्थिकस्तर उकास्न परियोजनालाई प्राथमिकता दिइएको बताउनुभयो ।उहाँले पर्यटकीय क्षेत्रका रुपमा व्यवस्थापन गरी परियोजनालाई प्राथमिकता दिएको बताउनुभयो । ‘डीपीआरको काम पूरा गरेर छिटोभन्दा छिटो निर्माणको काम हाम्रै कार्यकालमा शुरुआत गर्ने चाहाना छ।’ –नगरप्रमुख न्यौपानले भन्नुभयो ।परियोजनाका लागि आफ्नो संवेदनशीलता, चासो एकदमै गम्भीर भएको उहाँको भनाइ छ । काठमाडौंबाट १ सय ५० र पोखराबाट ५० किमी दूरीमा रहेको दमौलीस्थित मादी नदीमा १२ मिटर अग्लो बाँध बाँधेर कृत्रिम तालसहितको पर्यटकीय संरचना निर्माणका लागि अध्ययन थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा ४० लाख रुपियाँ बजेट छुट्याएको थियो ।

परियोजनालाई सरकारी–निजी–समुदायको साझेदारीमा निर्माण गर्ने नगरपालिकाको लक्ष्य रहेको छ ।मादीको पानी र प्राकृतिक स्रोतलाई व्यवस्थित गर्न सके आयआर्जनको स्रोत बन्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेलले बताउनुभयो । मादी नदीमा ताल बनाउन सकिएमा डुंगा चलाउन सकिने र पर्यटकलाई आकर्षित गर्न सकिने, माछा पालन, सुख्खाटारमा सिँचाइ, हिमालबाट बगेर आएको खानेपानीको उपयोग गर्न सकिने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष वृषराज श्रेष्ठले बताउनुभयो ।नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको क्रममा समेत यस परियोजना छनोट भएकोले कार्य अघि बढाउन सहज हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाको आन्तरिक आम्दानीबाट सम्भव छैन, प्रदेश र संघीय सरकारसँग सहकार्य गरी काम अघि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । परियोजनाका लागि कूल ६ अर्ब रुपियाँ बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

परियोजनाअन्तर्गत दरै, बोटे, कुमाललगायतका जातिको बसोबास रहेको गाउँको विकास र रोजगारी, ५ सय क्षमताको सभाहल, वनस्पती फूलबारी, मनोरञ्जन केन्द्र, वाटरपार्क, मिनी गल्फकोर्सलगायतका संरचना निर्माण गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । गुरुयोजना निर्माणका लागि इकोकोड प्यारागन इपीसेन्टर जेभिले जिम्मा पाएको छ । कार्यक्रममा इन्जिनियर सुमन थापाले शिशाघाटदेखि दमौलीसम्मको वडा नम्बर ३, ५, ६, ७ र १० वडा क्षेत्रका स्थानीयबासीको आयस्तर वृद्धिका लागि यो परियोजनाले टेवा पु¥याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्