झापाको नमुना वस्ती प्रधानमन्त्री ओलीद्वारा उद्घाटन



न्युज अफ नेपाल, भद्रपुर ।

झापाको बिर्तामोडमा निर्माण गरिएको प्रदेश गौरव भिलेज (नमुना बस्ती)को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । बिर्तामोड नगरपालिका, ह्याविट्याट नेपाल र सहारा नेपालको साझेदारीमा निर्माण गरिएका ३७ वटा आवासलाई प्रधानमन्त्री ओलीले मङ्लबार उद्घाटन गर्दै हस्तान्तरण गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले छिटो छिटो सरकार विकासको काममा जुटेको दाबी गर्नुभएको छ । आवास नभएका जनताका लागि सरकार यस्तै नमुना बस्ती बनाएर हस्तान्तरण गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले फुसका खरका छानाहरू विस्थापित गरी टिनको छाना लगाउने योजनामा सरकार रहेको बताउँनुभयो ।

हर्चना टुनटुनबारी नमुना आवास निर्माण उपभोक्ता समितिले २०७६ पुस देखि २०७७ मङ्सिर महिनाभित्र ३७ वटा आवास निर्माण गरेको निर्माण समितिका अध्यक्ष युवराज गौतमले जानकारी दिनुभयो । बिर्तामोड नगरपालिका ८ स्थित पुरानो बाटो र अरूको जग्गामा आश्रय लिएर बसेका ३७ परिवारका लागि शौचालयसहित बनेको प्रति घरमा चार लाख रुपैयाँ लागत लागेको जनाइएको छ ।

जम्मा एक करोड ४० लाख लागतमा निर्माण भएको घरमा बिर्तामोड नगरपालिकाले ७० लाख र ह्याविट्याट नेपालको ७० लाख आर्थिक सहयोगलाई सहारा नेपालले परिचालन गरेको थियो । आवासमा तीन वटा कोठा र एउटा बरन्डा रहेको छ । विपन्नको आवास निर्माणका लागि भद्रपुर ८ निवासी धनजुजु श्रेष्ठ, राधादेवी श्रेष्ठ र कमला देवी श्रेष्ठले करिब १ विगहा ३ कट्ठा जमिन निःशुल्क प्रदान गर्नुभएको थियो । निर्माण गरिएका आवासमा धिमाल, सन्थाल र चौधरी समुदायले बसोबास गर्ने जनाइएको छ । यता टिनसहितको पक्की घर पाएपछि उनीहरूको परिवारमा खुसीयाली छाएको थियो ।

प्रतिक्रिया दिनुहोस्