पर्वतका ग्रामीण सडकमा धमाधम पुल निर्माण हुँदै



दुर्गाप्रसाद शर्मा, पर्वत ।

पर्वतका मुख्य ग्रामीण सडकमा पर्ने खोलाहरुमा धमाधम पुल निर्माण भइरहेको छ । हिउँदमा गाडी गुड्ने तर बर्खामा बन्द रहने जिल्लाका ग्रामीण सडकमा यातायात सहज बनाउन पुल निर्माणलाई प्राथमिकता दिइएको छ ।चालू आवमा मात्रै पर्वतका करीब आधा दर्जनखोला नदीमा पुल निर्माण भइसकेको छ । केही खोलामा निर्माणाधीन पुल आगामी असारभित्रै सम्पन्न हुने चरणमा छन् । पूर्वाधार विकास कार्यालय पर्वत र सडक डिभिजन कार्यालय बागलुङले निर्माण थालेका पक्की पुलले मुख्य राजमार्ग तथा कुश्मा जोड्ने सबै स्थानीय तहमा यातायात सहज बनाउनेछ ।

जिल्लाका सबै स्थानीय तहका ग्रामीण सडकमा अघिल्लो वर्षदेखि शुरु भएका सबैजसो पक्की पुल आउँदो २०७८ असारभित्रै सम्पन्न हुने तयारीमा छन् । केही पुल यसअघि नै सम्पन्न भइसकेको सडक डिभिजन तथा पूर्वाधार कार्यालयले बताएको छ । कार्यालयका अनुसार फलेवासको अर्चले भंगरा जोड्ने पुलको निर्माण भइसकेको छ । गत महिना कुश्मा नगरपालिका–३ अम्बोटखोला र मोदी गाउँपालिका–६ तिलाहारस्थित रतिखोला पुलको निर्माण सम्पन्न भएको छ । सडक डिभिजन कार्यालयले निर्माण गरेका दुवै पुलले कुश्मा तथा मोदी गाउँपालिकालाई मध्यपहाडी राजमार्गसँग जोड्छन् । त्यस्तै मोदी गाउँपालिका–१ तथा कास्कीको अन्नपुर्ण गाउँपालिका ९ जोड्ने भुरुङ्दीखोला पुल यसै महीना सम्पन्न हुँदै छ ।

पूर्वाधार कार्यालयले चालू आवमा सकिनेगरी पैयुँ गाउँपालिका–७ मा शेराखोला, पैयुँ–४ मा गेडीखोला, मर्दीखोला र शिब्दीखोला पुल निर्माण गरिरहेको छ । कार्यालयका सूचना अधिकारी गौरवदास वैरागीका अनुसार चालू आवमै सक्नेगरी काम भइरहेका पुलमध्ये सबैको प्रगति ७५ प्रतिशत नाघिसकेको छ । ‘अहिलेसम्म सबै काम सकिन्थ्यो,’ उहाँले भन्नुभयो ‘कोभिडका कारण केही समय रोकिएको हो । अहिले धेरै अघि बढिसकेको छ । मनसुन शुरु हुनुअगावै सबै पुल सम्पन्न भएर गाडी चल्छन् ।’कार्यालय प्रमुख कृष्ण आचार्यका अनुसार भुरुङ्दीखोला पुलको काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै शेराखोला, मर्दीखोला र शिब्दीखोलाको काम तीव्र गतिमा अगाडि बढाइएको छ । पुल निर्माणको जिम्मा लिएको वाईएसएस निर्माण कम्पनीका प्रतिनिधि यज्ञबहादुर थापाका अनुसार गेडीखोला पुल निर्माण सकिएको छ ।

सडक डिभिजन कार्यालय बागलुङका अनुसार पर्वतका ग्रामीण सडकलाई सहज हुनेगरी चारओटा पक्की पुल निर्माणको चरणमा छन् । चारमध्ये मोदी गाउँपालिका–५ बाजुङ र कुश्मा नगरपालिका–३ दुर्लुङ जोड्ने अम्बोटखोला पुल निर्माण सम्पन्न भइसकेको छ । डिभिजन प्रमुख रामेश्वर लम्सालले कुश्मा नगरपालिका–२ रिठेखोला तथा पर्वतको फलेबास र बागलुङको जैमिनी नगरपालिका जोड्न कालीगण्डकीमा पुल निर्माण भइरहेको बताए । कालीगण्डकी पुलले पर्वतको फलेवास नगरपालिका र बागलुङको जैमिनी नगरपालिका जोड्छ ।
समाप्त फागुन १८रतिखोलामा हालै निर्माण सम्पन्न भएको पुल ।

प्रतिक्रिया दिनुहोस्