कालीगण्डकी करिडोरको कालोपत्रे शुरू



दुर्गाप्रसाद शर्मा, पर्वत। 

छिमेकी मुलुक भारत र चीन जोड्ने व्यापारिक सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानी–फलेबास खण्डमा कालोपत्रे शुरु भएको छ । पर्वतको रानीपानीदेखि कुर्घा हुँदै फलेवाससम्म २३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्यको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गर्नुभएको हो ।

पर्वतको बिहादी गाउँपालिका–२ रानीपानीदेखि फलेवास नगरपालिकाको लमायखोला सम्मको खण्डका लागि आवश्यक १ अर्ब २४ करोड रुपियाँ बजेट विनियोजन भएको छ । बजेट विनियोजनसँगै बहुवर्षीय ठेक्काका लागि समेत अर्थ मन्त्रालयले स्वीकृत दिएपछि सडक कालोपत्रेको काम शुरु भएको हो । दुई हप्तापछि सडक कालोपत्रेको काम तीव्र गतिमा हुने आयोजना प्रमुख सुवोध देवकोटाले जानकारी दिनुभयो । देवकोटाले आउँदो दुई वर्षभित्रै सडक कालोपत्रेको काम सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुभयो ।राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको यो खण्ड पर्वत जिल्लाको मेरुदण्ड समेत हो । कालीगण्डकी कोरिडोरअन्तर्गत गैंडाकोटदेखि पर्वतको मालढुंगासम्मको २ सय ४५ किलोमिटर सडकखण्डमध्ये गैंडाकोटदेखि राम्दीसम्मको १ सय ३१ किलोमिटर सडक कालोपत्रेको काम धमाधम भइरहेको छ । अहिलेसम्म १५ किलोमिटर सडक कालोपत्रे भइसकेको र चालू आर्थिक बर्षमा ७० किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्य लिएको आयोजना प्रमुख देवकोटाले बताउनुभयो । यो सडक व्यापारिक तथा धार्मिक दृष्टिकोणले महŒवपूर्ण मानिएको छ ।

करिडोरको पर्वत खण्डमा पर्ने लमायखोलादेखि अर्मादीसम्म मात्रै कालोपत्रेका लागि बाँकी रहेको छ । सो खण्डमा समेत अहिले ट्याक खोल्ने काम भइरहेको छ । चैतसम्ममा ट्रयाक खोल्ने काम सकेर त्यसलाई पनि कालोपत्रेका लागि प्रक्रिया अगाडि बढाइने प्रमुख देबकोटाले जानकारी दिनुभयो । पर्वतको अर्मादीदेखि स्याङ्जाको सेतीबेणीसम्मको ५३ किलोमिटरमध्ये मिर्मीदेखि सेतीबेणीसम्मको ७ किमीमा सडक र सेतीबेणीदेखि रानीपानीसम्मको ७ किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भैरहेको छ ।फलेबासमा आयोजित शिलान्यास कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कालोपत्रे गर्ने कार्यको शिलान्यास गर्दै विकास निर्माणले गति लिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले अब पर्वत जिल्ला सडक सञ्जालले समृद्ध बनेको बताउँदै जिल्लावासी भएको नाताले विकासमा सँधै हातेमालो गरेको बताउँदै कुनै पनि पालिका र वडाहरुमा जाँदा कच्ची बाटोमा हिँड्नुपर्ने अवस्था नआउने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य पदम गिरीले पर्वत जिल्ला सडक सञ्जाल बिस्तारका हिसाबले सबैभन्दा अगाडि आएको छ भन्नुभयो । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्सालले पर्वतको मेरुदण्डको रुपमा रहेको कालीगण्डकी करिडोरको काम सकिएपछि जिल्लाको विकासले मुहार फेर्ने बताउनुभयो । यसैबीच करिडोरअन्तर्गत मालढुंगादेखि बेनीसम्मको सडकको स्तरोन्नतीका लागि हालै टेन्डर आह्वान भएको छ । सो सडकको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला आयोजनाले टेन्डर आह्वान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्