इन्धनको मूल्य बढ्न सक्ने



काठमाडौं, नेस  ।
नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनले इन्धनको नयाँ मूल्यसूची पठाएको छ । हरेक अंग्रेजी महिनाको १ तारिख र १५ तारिखमा नयाँ मूल्य सूची पठाउने सहमतिअनुसार आईओसीले नयाँ मूल्य पठाउको हो ।

यसपटक आईओसीले मूल्य बढाएर पठाएको निगम स्रोतले जनाएको छ । आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ४ दशमलव २० रुपियाँ, डिजेलमा ४ दशमलव शून्य ७ रुपियाँ, मट्टितेलमा ४ दशमलव ६५ रुपियाँ, हवाई इन्धनमा ४ दशमलव शून्य ६ रुपियाँ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ९१ दशमलव ९६ रुपियाँ मूल्य बढेको छ । निगमले स्वचालित मूल्य सूची प्रणालीका कारण अब इन्धनको मूल्य बढ्ने सम्भावना रहेको छ ।

हाल पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपियाँ, डिजेल र मट्टितेलको मूल्य ९७ रुपियाँ तथा आन्तरिक हवाई इन्धनको मूल्य ६७ रुपियाँ तथा बाह्य हवाई इन्धनको प्रतिकिलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य १४ सय रुपियाँ प्रतिसिलिन्डर रहेको छ । अहिले निगमलाई पाक्षिक रुपमा १ अर्ब ५४ करोड रुपियाँ घाटा हुने अवस्था छ ।निगम स्रोतका अनुसार नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १० दशमलव शून्य ६ रुपियाँ, डिजेलमा ८ दशमलव २२ रुपियाँ, आन्तरिक हवाई इन्धनमा १ दशमलव ९३ रुपियाँ प्रतिलिटर नोक्सान रहेको छ । साथै खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ३ सय ९२ रुपियाँ ८२ पैसा रहेको छ । तर, मट्टितेलमा १७ दशमलव ४२ रुपियाँ र बाह्य हवाई इन्धनमा ३१ दशमलव ६४ रुपियाँ नाफा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्