संगीतकर्मीलाई नातिकाजी राष्ट्रिय सम्मान गिरी र स्मृतलाई पत्रकारिता पुरस्कार



संगीत महर्षि स्व. नातिकाजी श्रेष्ठको ९४औं स्मृति दिवसको अवसरमा नातिकाजी स्मृति समाजले सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०७६ आयोजना गरी विभिन्न संगीतकर्मी तथा पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरेको छ।

सो अवसरमा नेपाल समाचारपत्रका समाचार सम्पादक तथा कामना मासिकका सम्पादक विदुर गिरीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७६ बाट पुरस्कृत गरेकी छिन्। उनीसँगै रंगपत्रकार स्याम स्मृत पनि यही पुरस्कारबाट पुरस्कृत भएका छन्। समारोहमा नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान–२०७६ बाट गीतकारहरु बालकृष्ण सजीव, सुरेन्द्र राना र चूडामणि देवकोटा, संगीतकारहरु राजु सिंह, सुनील मास्के, मदनसिंह नेपाली, मनोहर सुनाम, शान्तिराम राई, महेश खड्का र नारायण रायमाझी तथा वाद्यवादक राजु अग्रवाल सम्मानित भएका छन्।

त्यसै गरी नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७६ बाट गायक–गायिकाहरु सुगम पोखरेल चेतन सापकोटा, प्राश्ना शाक्य र गीतकार दयाराम पाण्डे पुरस्कृत भएका छन्। नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७६ बाट संगीतकार वसन्त सापकोटा, गायक सुरजकुमार थापा, गीतकार हर्क साउद र गायिका मेलिना राई पुरस्कृत भएका छन्।

नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार–२०७६ बाट वाद्यवादक जीवित जल्मी, नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार–२०७६ बाट शास्त्रीय संगीतकार विकास नाथ योगी, नातिकाजी राष्ट्रिय लोकसंगीत पुरस्कार–२०७६ बाट लोकगायक बद्री पंगेनी, राष्ट्रिय सम्मान–२०७६ बाट समाजसेवी नवराज केसी सम्मानित भएका छन् भने बालगायिका जारारीत प्रसाईंलाई प्रशंसापत्र प्राप्त गरेकी छिन्। संगीतकर्मी र पत्रकारहरुलाई राष्ट्रपति विद्यँदेवी भण्डारी, सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सम्मानपत्र, नगद र खादासहित दोसल्ला ओढाएर पुरस्कृत गरेका थिए।समारोहमा विभिन्न गायक–गायिकाले नातिकाजीद्वारा संगीतबद्व गीत गाएर सुनाएका थिए।

सो अवसरमा गायक सुगम पोखरेलले नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, जारारीत प्रसार्ईंले शुभकामनाभरि, सुरज थापाले नजाउ छोडी यो देश, गायिका प्राश्ना शाक्यले काली पारी दाइ कति राम्रो र मेलिना राईले फूलको थुंगा बोलको गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए। समारोहमा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानित तथा पुरस्कृतहरुलाई बधाई ज्ञापन गर्दै नेपाली संगीत आकाशका उज्वल नक्षत्रका रूपमा रहेका स्व. नातिकमाजी श्रेष्ठप्रति यस अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी थिइन्।

‘नातिकाजी नेपाली जनताको मनमा बस्ने मौलिक नेपाली संगीतको सर्जक हुनुहुन्थ्यो। रेडियो नेपालमा स्थापनाकालदेखि नै आबद्ध भई उहाँले नेपाली संगीतको सिर्जना र गायन यात्रा आरम्भ गर्नुभएको थियो। उहाँको सयौं कालजयी गीत–संगीत सिर्जना गर्नुभएको थियो’, समारोहमा नातिकाजीको चर्चा गर्दै राष्ट्रपति भण्डारीले भिनन्– ‘संगीतसाधक शम्भुजिक बास्कोटाको कुशल नेतृत्वमा नातिकाजी स्मृति समाजले सिर्जनात्मक कार्य गर्दै जानेछ भन्ने विश्वाससहित सम्पूर्ण नेपाली संगीत जगत्को उत्तरोत्तर प्रगतिको कामना गर्दछु।’

समारोहमा संगीतकार तथा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बास्कोटाले नातिकाजीले नेपाली गीत–संगीतको क्षेत्रमा पु-याएको योगदाबारे चर्चा गरे। ‘नेपाली सुगम संगीतको इतिहासमा नेपाली समाजप्रति समर्पित भई शास्त्रीय लोकभजन तथा गीत–संगीतको उच्च सांगीतिक सिर्जना गरी संगीत महर्षि नातिकाजीले महत्वपूर्ण योगदान दिनुभएको छ। उहाँको संगीतले देश तथा विदेशमा रहेका नेपाली जनसमुदायमा अत्यन्तै ठूलो प्रभाव पारेको छ।’ –बासकोटाले भने।

नातिकाजीको नाममा स्थापित पुरस्कार नितान्त पारिवारिक स्रोत साथीभाइ र शुभचिन्तकको सहयोगबाट अगाडि बढिरहेको जनाउँदै उनले यसपटकदेखि महानगरपालिकाबाट अक्षयकोष राख्ने निर्णय भएको जानकारी गराए। बास्कोटाले नातिकाजीको चावहिलस्थित घर वरिपरि उनी हिँड्ने गरेको मार्गलाई नातिकाजी मार्ग घोषणा गर्न सरकारलाई आग्रहसमेत गरे।

‘अहिले पनि मानिसहरु त्यो बाटो हिँड्ने बेलामा नातिकाजी दाइको घर भनेर स्मरण गर्ने गरेका छन्।’ –शम्भुजितले सुनाए। बास्कोटाले संगीतकर्मी जीवनीलाई जीवन्त बनाउन संग्रहालय खोल्न र यो क्षेत्रको श्रीवृद्धिका लागि संगीत बोर्ड स्थापन गर्न पनि आग्रह गरे। समारोहमा बास्कोटाले राष्ट्रपति भण्डारीलाई मायाको चिनो प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्