गौतम बुद्ध रंगशाला बन्न अझै ३ अर्ब चाहिने



नेपाल समाचारपत्र, काठमाडौं  ।

धुर्मुस–सुन्तली फाउन्डेसनको पहलमा चितवनको भरतपुरस्थित शान्तिपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला बनाउन लागेको हालसम्मको खर्च सार्वजनिक गरिएको छ ।

फाउन्डेसनले सोमबार गरिएको पत्रकार सम्मेलनमा जनाएअनुसार हालसम्म रंगशाला बनाउन ४३ करोड ४६ लाख ६ हजार ३ सय खर्च भएको छ । फाउन्डेसनले सार्वजनिक गरेअनुसार २०७५ देखि थालनी भएको रंगशाला निर्माणका लागि हालसम्म ३२ करोड ३० लाख २४ हजार ३ सय ४५ रुपैयाँ संकलन भएको छ । फाउन्डेसनले ११ करोड १७ लाख ८२ हजार ऋणमा रहेको पनि जनायो । यही कारणले गर्दा निर्माण कार्य अघि बढाउन नसकेको पनि फाउन्डेसनले जनायो ।

रंगशाला बनाउन कुल ३ अर्ब ५५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको पनि फाउन्डेसनले जनायो । तर, मुख्य क्रिकेट खेल मैदानको ८५ प्रतिशत काम सकिसकेको फाउन्डेसनले बतायो । साथै, प्याराफिटको काम ३० प्रतिशत सकिएको छ । ३० हजार दर्शक अट्ने क्षमताको रंगशालामा ७७ वटा कोठा हुनेछन् । यसले नेपालको ७७ देशको प्रतिनिधित्व गर्छ । यस्तै, रंगशालाको छतमा ७७ वटै कमलको पातहरू हुनेछ । सात प्रदेशको प्रतिनिधित्व हुने गरी भिन्न भिन्न ढोका छन् । त्यस्तै, नेपालको धार्मिक, सांस्कृतिक, प्राकृतिक मौलिक सम्पदा झल्कने गरी रंगशाला निर्माण गरिरहेको छ ।

हाम्रो रंगशालामा मेरो कुर्सी

रंगशालालाई पूर्णता दिन फाउन्डेसनले ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अवधारणा पनि सार्वजनिक गरेको छ । ३ अर्ब रकम जुटाउन यो अवधारणाले काम गर्नसक्ने पनि फाउन्डेसनको विश्वास छ । यस अवधारणामा प्रत्येक व्यक्ति, संस्था र समूहले आ आफ्नो नाम वा परिवारको साथै अन्य नाममा कुर्र्सी राख्न सक्नेछन्, जसमा एक कुर्सी पाउन १ लाख रुपैयाँ तिर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्