शान्ति स्थापनामा सशस्त्र प्रहरी बलको फर्मड पुलिस युनिट सर्वोकृष्ट



नेपाल समाचारपत्र, काठमाडौं ।

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिणी सुडानको जुवामा तैनाथ विभिन्न देशका युनिटमध्ये सशस्त्र प्रहरी बल, नेपालको फर्मड पुलिस युनिट (एफपीयू–१) सर्वोकृष्ट ठहरिएको छ ।एलिन पिकेरिङको नेतृत्वमा गठित चार सदस्यीय कार्य सम्पादन परीक्षण तथा मूल्यांकन समितिले दक्षिणी सुडानमा तैनाथ ६ वटा एफपीयूमध्ये राजधानी जुवामा तैनाथ नेपाल एफपीयू–१ लाई सर्वोकृष्ट युनिट घोषणा गरेको हो ।उक्त समितिले तयार पारेको कार्य सम्पादन परीक्षण तथा मूल्यांकन प्रतिवेदनमा नेपाल एफपीयूले शतप्रतिशत नतिजा प्राप्त गरी हालसम्मकै सर्वोकृष्ट हुन सफल भएको सो युनिटका कमान्डिङ अफिसर सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कुमार न्यौपानेले जानकारी दिनुभयो ।

कुनै पनि मिसनमा तैनाथ एफपीयूबीच विभिन्न विधामा मूल्यांकन गरी उत्कृष्टता छनोट गर्ने कडीका रुपमा लिइने यस मूल्यांकनलाई एफपीयूहरुले प्राप्त गर्ने प्राप्तांकका आधारमा उत्कृष्ट छनोट गरिने गरिएको छ । आन्तरिक प्रतिस्पर्धामा समावेश गरिएका आठ विधाहरु क्रमशः मिसन कार्यादेशको ज्ञान र समर्थन, कमान्ड एन्ड कन्ट्रोल, नागरिक सुरक्षा, अप्रेसनल रेडिनेस र क्षमता, बन्दोबस्ती क्षमता, प्रशासन, तालिम र स्वास्थ्य तथा कल्याणकारी हुन् । प्रत्येक विधामा अधिकतम चार÷चार अंकका दरले ३२ पूर्णांक छुट्याइएको थियो । गत फेब्रुअरी १८मा लिइएको उक्त परीक्षण तथा मूल्यांकनमा नेपाल एफपीयू–१ ले ३२ अंक ल्याउन सफल भएको हो ।सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कुमार न्यौपानेले नेतृत्व गरिरहेको उक्त डप्फामा डिपुटि कमान्डिङ अफिसर सशस्त्र प्रहरी नायब उपरीक्षक शिवप्रसाद गैह्रे, चिफ लजिस्टिक अफिसर सशस्त्र प्रहरी नायब उपरीक्षक रामजंग पाण्डे र चिफ अप्रेसन अफिसरको जिम्मेवारीमा सशस्त्र प्रहरी नायब उपरीक्षक अरुणकुमार शर्मा रहनुभएको छ ।

उक्त एफपीयूमा ३४ जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित १ सय ८० सशस्त्र प्रहरी अधिकृत तथा जवानहरु कार्यरत छन् । शान्ति प्रक्रिया सातौं डप्फाको रुपमा सन् २०२० को फेब्रुअरी ९ तारिखमा सुडानमा तैनाथ सशस्त्र प्रहरी बल, नेपालको उक्त टोलीले कोराना कहरको समयमा समेत बिचलित नभई आफूलाई प्राप्त जिम्मेवारीलाई उत्कृष्टरुपमा निर्वाह गरेको तथा कमान्ड स्टाफ र सकल दर्जाका कर्मचारीहरुको अथक मेहनतका कारण पनि अन्य एफपीयूलाई पछि पार्न सफल भएको कमान्डिङ अफिसर न्यौपाने बताउनुभयो ।हाल दक्षिण सुडानमा रहेका एफपीयूमा नेपालका तर्फबाट दुईवटा, रुवान्डाको तीनवटा र घानाको एक गरी जम्मा ६ वटा एफपीयू कार्यरत छन् । शान्ति प्रक्रियामा रहेको यस राष्ट्रमा सन् २०२३ डिसेम्बरमा आम निर्वाचन हुन गइरहेको छ ।

यसै क्रममा एफपीयूको संख्यामा कटौती गरी इन्डिभिजियल प्रहरीहरुको संख्या वृद्धि गर्ने योजनाको साथ अगाडि बढिरहेको परिप्रेक्ष्यमा यस रिपोर्टलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्