झडपपछि २५ कैदीबन्दी स्थानान्तरण



मिला दरै, तनहुँ  ।

तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला कारागारमा आइतबार साँझ झडपमा घाइते भएपछि २५ कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । झडपमा ६ जना कैदीबन्दी घाइते भएका थिए ।झडपले गर्दा सुरक्षा जोखिम बढ्न सक्ने भएकाले विवादमा संलग्न कैदीबन्दीलाई आइतबार राती नै स्थानान्तरण गरिएको जिल्ला कारागार कार्यालय तनहुँले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्य, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल, कारागारका निमित्त प्रमुख नारायण अधिकारीसहित बसेको आकस्मित सुरक्षा अधिकारीको बैठकले पुनः झडप हुन सक्ने जोखिम भएकोले स्थानान्तरण गरिएको जनाइएको छ ।

‘विवादसँगै झगडा नै भएकाले प्रतिशोध लिन सक्ने सम्भाव्यतालाई भविष्यमा सुरक्षित बनाउन स्थानान्तरण गरेका हौं ।–निमित्त जेलर अधिकारीले भन्नुभयो । तीन वर्षअघि समेत तनहुँ कारागारमा झडप भएपछि संलग्न कैदीबन्दीलाई अन्यन्त्र स्थानान्तरण गरिएको कारागार कार्यालयले जनाएको छ। नाइके नियुक्तिमा चलेको विवादलाई लिएर कारागारको नयाँ भवन ‘बी’ ब्लकमा स्थानान्तरण भइआएका कैदीबन्दीको समूहले आक्रमण गरेको कारागारले जनाएको छ । घाइतेहरुको टाउको, हातखुट्टालगायतका भागमा चोट लागेको दमौली अस्पतालले जनाएको छ । कारागारका अनुसार झडपमा धनबहादुर शाही, माधवप्रसाद कँडेल, दीपक दर्जी, कुलबहादुर तामाङ, अनुप थापा, ज्ञानबहादुर विक घाइते भएका थिए ।

काठमाडौंबाट स्थानान्तरण गरिएका अनिल खड्कालगायतकाले आफूमाथि कराइ, लठ्ठी, मुंग्रोले आक्रमण गरेको दमौली अस्पतालमा उपचार गराइरहेका घाइते कैदीबन्दीहरुले बताएका थिए । कारागारका नाइके धनबहादुर शाहीले आफूहरुमाथि विवाद गरेर उनीहरुले आक्रमण गरेको बताउनुभयो । ‘म बसिरहेको थिएँ, एक्कासि पछाडिबाट तरकारी पकाउने कराइले आक्रमण गरेपछि म बेहोस भएछु।’ –शाहीले भन्नुभयो ।इन्टरनेसनल कल बाइपास मुद्दामा काठमाडौं, पाल्पासहित विभिन्न ठाउँबाट तनहुँ स्थानान्तरण भइआएको समूहले उनीहरुमाथि आक्रमण गरेको घाइते कैदीबन्दीले बताएका छन् । नाइके नियुक्तिको विवाद सृजना भएयता कैदीबन्दी दुई समूहमा विभाजित थिए । उक्त समूहले कारागारमा रहेका नाइकेहरुले शोषण गरेको भन्दै विवाद गरी झडपमा उत्रेको घाइते कैदीबन्दीको आरोप छ । घाइते कैदीबन्दीको स्वास्थ्य सुधार भएको हाल अवस्था सामान्य रहेको अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्