लैंगिक समानता के हो ?



लैंगिक समानता भन्नाले पुरुष र नारीलाई अवसर, जिम्मेवारी,अधिकार, सेवा, लाभ, स्रोत–साधन आदिमा समान अवसर, पहुँच र नियन्त्रण कायम राख्नु हो । माहिला र पुरुषलाई आफ्नो व्यक्तिगत विकास र छनोट गर्न समान र स्वतन्त्र छ भन्ने मान्यता नै लैंगिक समानता हो।

लैंगिक समानता ल्याउनको लागि विशेष अभियानहरूको सञ्चालन गर्दै त्यससम्बन्धमा देखा परेका चुनौतीहरुसँग जुध्दै जानुपर्दछ।लैंगिक समानता ल्याउन नारीवर्गको चेतनामा अभिवृद्धि गर्नुपर्छ। नीतिनिर्माणका उच्च तहमा महिलाहरू पुग्नुपर्दछ अनि मात्र लैंगिक समानताले खुड्किलो चढ्छ ।हरेक समाजले महिला र पुरुषको लागि बेग्लाबेग्लै मूल्य मान्यता, भूमिका, उत्तरदायित्व र विशेषता तोकिदिएको हुन्छ । भर्खरै जन्मेको शिशुलाई उसको लिंगको आधारमा पुरुष र महिलामा परिवर्तन गर्न सामाजिक र सांस्कृतिक प्रक्रिया शुरु हुन्छ । त्यो नै सामाजिकीकरण हो । सामाजिकीकरण जस्तो समाज छ त्यसले चाहेअनुसारको हुन्छ ।

सामाजिकीकरण स्वाभाविक प्रक्रिया हो, किनकि प्रत्येक समाजमा त्यहाँ स्थापित चालचलन, रीतिरिवाजलाई स्वभावैले अनुशरण गरिन्छ तर सवाल के हो भने, त्यो समाज कति सभ्य छ, त्यहाँ विभेदहरु छन् कि छैनन्, त्यसका मूल्य मान्यता न्यायसंगत छन् वा छैनन्, त्यसले नै सामाजिक प्रक्रियामा प्रभाव पार्दछ ।जस्तै– अत्यन्तै रुढिग्रस्त समाजमा जन्मेको बालकले पनि बाह्य प्रभाव प्राप्त गर्न सकेन भने त्यही समाज अनुकूल बन्न पुग्दछ तर जन्मदै ऊ रुढिवादी बनेर जन्मेको हुँदैन । सामाजिकीकरण हुनु आफैंमा नराम्रो होइन तर गलत समाजमा रहेका गलत मान्यतालाई परिवर्तन गर्नु आजको आवश्यकता हो । हाम्रा घर–परिवार तथा छिमेकी महिला र पुरुषलाई सामाजिकीकरण गर्न सघाउ पु र्‍याउने प्रमुख तत्वहरु हुन् । शिशु जन्मेपछि त्यस परिवारको संस्कारअनुसार उसलाई परिवर्तन गरिन्छ ।

बोलिचाली, सहयोग, सम्मान, अरुप्रति गर्ने व्यवहार सबै त्यस परिवारका अन्य मानिसले के–कसरी गरेका छन् र उसलाई के सिकाइन्छ, त्यसबाट नै उसले आफूलाई त्यसै अनुसार व्यवहार गर्न थाल्छ । त्यसै गरी ऊ डुल्ने, खेल्ने गरेको परिवारपश्चात् दोस्रो स्थान उसको छिमेक हो । त्यसैले छिमेकमा के हुने र गरिने चलन छ, त्यो देखेर, सिकेर उसले आफूलाई परिवर्तन गर्न थाल्छ वा समाज अनुकूल आफूलाई ढाल्दै जान थाल्छ । यसै अनुसार महिला र पुरुषको अलग–अलग परिचय बन्दछ ।
– सरु रायमाझी, बागलुङ 

प्रतिक्रिया दिनुहोस्