पार्टी खोल्ने योजना छैन : ट्रम्प



वासिङ्टन, (एजेन्सी) ।  

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कुनै नयाँ राजनीतिक पार्टी शुरू गर्ने योजना नभएको स्पष्ट पारेका छन् । फलेरिडामा कन्जेभेटिभ सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले यदि नयाँ पार्टी खोलेको खण्डमा त्यसले रिपब्लिनहरूको मत विभाजित गर्ने बताएका छन् । नयाँ डेमोक्रेट राष्ट्रपति जोय बाइडेनले पदभार सम्हालेयता पहिलोपटक भाषण दिएका ट्रम्पले आफुले सन् २०२४ को राष्ट्रपतिय निर्वाचनमा उम्मेदवारी दिनेबारे पनि संकेत दिएका छन् ।

साथै, ट्रम्पले बाइडेन सरकारको पनि आलोचना गर्दै भनेका छन् अहिले अमेरिकी नीति ‘अमेरिका पहिलोबाट अमेरिका अन्तिममा’ पुगेको छ । ट्रम्पले आफूलाई महाभियोगको मुद्दाबाट सफाइ दिइएको केही सातापछि यो भाषण दिएका हुन् । कन्जरभेटिभ पालिटिकल एक्सन कन्फरेन्स (सीपीएसी) अमेरिकाको कन्जरभेटिभ कार्यकर्ता र राजनीतिज्ञहरूको सबैभन्दा ठूलो बैठक हो । यस बैठकले सधै रिपब्लिकन पार्टीको दिशालाई अन्तरदृष्टि दिने गरेको छ ।

गत जनवरीको युएस क्यापिटल भवनमा आफ्ना समर्थकहरूले गरेको दंगालाई उक्साउने काम गरेको अभियोगमा ट्रम्पमाथि अझैसम्म फेसबुक र ट्विटर लगायत अन्य विभिन्न सामाजिक सञ्जालले प्रतिबन्ध कायमै राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्