सैनिक विद्रोहपछि पहिलोचोटि सुकी सार्वजनिक सुकीविरुद्ध थप दुई अभियोग



यांगुन, (एजेन्सी)  ।

सैनिक विद्रोहयता म्यान्मारका प्रजातन्त्रवादी नेतृ आङ सान सुकी पहिलोपटक सोमबार सार्वजनिक भएकी छन् । उनी भिडियो लिन्कमार्फत अदालतमा उपस्थित भएकी हुन् । अपदस्थ गरिएकी जननिर्वाचित नेतृ सुकी स्वस्थ देखिन्छन् । उनलाई उनको कानुनी टोलीसँग सम्पर्क राख्न अनुरोध गरिएको थियो ।

१ फेब्रुअरीको सैनिक विद्रोहलगत्तै हिरासतमा लिइएका सुकीविरुद्ध दुईवटा नयाँ अभियोग लगाइएको छ । आइतबार प्रहरीले चलाएको गोली लागेर अठार जना प्रदर्शनकारी मारिएका थिए । यसको बाबजुद सोमवार पनि म्यान्मारका सडकहरूमा प्रदर्शन कार्य जारी रहेको छ । सुकीलगायत उनको नेसनल लिग फर डेमोक्रेसी पार्टी ( एनएलडी ) का अन्य वरिष्ठ नेताहरू रिहाइ र जननिर्वाचित सरकारको पुनस्र्थापनाको माग गर्दै शुरू भएको पछिल्लो प्रदर्शनले प्रहरी दमनको प्रतिकार गरेको छ । सुकीसंगै राष्ट्रपति विन मिन्टलाई पनि गिरफतार गरिएको थियो ।सेनाले गत वर्षको नोभेम्बरमा सम्पन्न आमनिर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै सत्ता कब्जा गरेको हो । एनएलडीले अत्यधिक बहुमतले सो चुनाव जितेको थियो । तर, सेनाले धाँधली भएको सम्बन्धमा कुनै ठोस प्रमाण दिन सकेको छैन ।

बरु सेनाले नयाँ निर्वाचन आयोग खडा गर्दै आगामी एक वर्षभित्र ताजा चुनाव गराउने बचन दिएको छ । ७५ वर्षीया तथा शान्तिका लागि नोबेल पुरस्कार विजयी सुकीलाई राजधानी ने पि ट स्थित अदालतमा उपस्थित गराइएको हो । हुन त म्यान्मारमा अल्पमत मुस्लिम समुदाय रोहिंग्यामाथि सरकार पक्ष र सेनाबाट भएको दमनलाई लिएर विगतमा सुकीको पनि अन्तर्राष्ट्रिय जगतमा व्यापक आलोचना हुने गरेको थियो ।
शुरूमा सुकीविरुद्ध अवैधरूपमा सञ्चार उपकरण वाकीटकी आयात गरेको र म्यान्मारको दैवी प्रकोप कानुन उल्लंघन गरेको अभियोग लगाइएको थियो । तर, सोमबार उनलाई चुनाव प्रचार प्र्सारको क्रममा कोभिड–१९ का नियमहरू तोडेको तथा ‘डर सन्त्रास’ फैलाएका जस्ता नयाँ अभियोग पनि लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्