जोन्सन एन्ड जोन्सनलाई अमेरिकामा अनुमति



भगवती तिमल्सिना,काठमाडौं ।

कोरोनाविरुद्धको खोप उत्पादनमा भएको प्रगतिसँगै जोन्सन एन्ड जोन्सनबाट उत्पादित खोपलाई अमेरिकामा प्रयोगका लागि अनुमति दिइएको छ । अमेरिकाको खाद्य तथा औषधि प्रशासन एफडीएले शनिबार यो खोपलाई अमेरिकामा प्रयोगका लागि आपत्कालीन अनुमति प्रदान गरेको जनाएको छ ।

सन् २०२० डिसेम्बरदेखि कोरोनाविरुद्धको खोप प्रयोगमा ल्याएको अमेरिकामा यसअघि फाइजर र मोर्डनाको खोप प्रयोगमा आइसकेको छ । अमेरिकाका लागि यो तेस्रो प्रकारको खोप हो । यो खोप अमेरिकामा उपलब्ध दुईभन्दा फरक एक डोज लगाए मात्र पुग्ने पहिलो भ्याक्सिन भएको अमेरिकाले दाबी गरेको छ । कोरोना भाइरसले स्वरुप बदलेको (भेरियन्ट) यूके भेरियन्ट बी १ दशमलव १७ छ भने साउथ अफ्रिकाको बी प्वाइन्ट १ प्वाइन्ट ३५१, ब्राजिल भेरियन्ट पी १ लाई समेत निस्क्रिय बनाउन यो खोपले मद्दत गरेको पनि उल्लेख गरिएको छ ।यी फरकफरक भेरियन्टमा देखिएका कोरोना भाइरसलाई पनि जोन्सन एन्ड जोनसनको भ्याक्सिनले काम गरेको देखिएको विज्ञहरुले जनाएका छन् । त्यसैले अहिलेसम्मको अध्ययनले नयाँ खालको भाइरसलाई पनि न्यूनीकरण गर्न मद्दत मिलेको जनाएको छ । यो खोपलाई अमेरिकाले सन् २०२१ को फेब्रुअरी २७ मा आकस्मिक प्रयोगका लागि स्वीकृति दिएको छ । त्यसै गरी बहराइनले पनि यसअघि नै आकस्मिक प्रयोगका लागि स्वीकृति दिइसकेको छ ।

जोन्सन एन्ड जोन्सन फर्मास्युटिकल्स कम्पनीले जेन्सिन फार्मासिटीका बेल्जियम र बेथ इजरायल डिकनेस मेडिकल सेन्टरसँगको सहकार्यमा यो खोप बनाएको हो । यो खोप विश्व स्वास्थ्य संगठनमा पनि आकस्मिक स्वीकृतिका लागि आवेदन गरिसकेको छ ।यसको पूर्ण प्रभावकारिता ६६ प्रतिशत रहेको उल्लेख गरिएको छ । अनुसन्धानका क्रममा फरकफरक मुलुकमा फरक भएको पाइएको उल्लेख गरिएको छ । अस्पतालमा उपचाररत बिरामीमा प्रयोग गर्दा थप प्रभावकारी देखिएको तथा सघन उपचार कक्षमा उपचार गराइरहेका बिरामीमा गरिएको परीक्षणले थप सन्तोषजनक परिणाम आएको उल्लेख गरिएको छ । उपचाररत व्यक्तिमा ८६ प्रतिशत सुरक्षित भएको अमेरिकाको खाद्य तथा औषधि प्रशासन एफडीएका खोप सल्लाहकार डा. पवल अफइटले शुक्रबार अमेरिकाको सञ्चारमाध्यमहरुलाई जानकारी दिनुभएको उल्लेख गरिएको छ ।

हरेक औषधि अर्थात् खोपको सामान्यतया साइड इफेक्ट व्यक्तिअनुसार फरकफरक हुन्छ । जोन्सन एन्ड जोन्सनको पनि यस्तै सामान्य खालको साइड इफेक्ट देखिएको भए पनि यसबाट खासै हानि नपुग्ने डा. पवलले जानकारी दिनुभएको छ । ‘यस्तो देखिनु भनेको खोपको प्रभावकारिता अर्थात् खोपको सामान्य नियममै पर्छ।’ –उहाँले जोड दिनुभयो ।यो खोप एक डोज बराबर अमेरिकी १० डलर सरकारले तिर्ने सहमति भएको छ । जोन्सन एन्ड जोन्सनको खोप फाइजर र मोर्डनाको भन्दा पनि कम मूल्य पर्ने उल्लेख गरिएको छ ।यो खोप १८ वर्षदेखि माथिका व्यक्तिलाई लगाइन्छ । यसअघि लगाउँदै आएको फाइजरको २१ दिन र मोर्डनाको खोप ४ हप्तापछि दोस्रो डोज लगाउँदै आएको छ । यसरी खोप लगाउँदा दोस्रो डोज खोप लगाउन पाएन भने खोप लगाउने कार्य पूर्ण पनि नहुने र असुरक्षित हुन्छ भने जोन्सन एन्ड जोन्सनको खोप एकपटक लगाएपछि दोस्रो डोज लाउनुनपर्ने हुनाले यो खोप सुरक्षित र थप प्रभावकारी हुने अमेरिकी सरकारको ठम्याइ छ ।

यससँगै अमेरिकामा उपलब्ध कोरोनाविरुद्धको तेस्रो प्रभावकारी खोपका रुपमा जोन्सन एन्ड जोन्सनलाई लिइएको छ । जोन्सन एन्ड जोन्सनको खोप विभाग जान्सेनले बनाएको यो भ्याक्सिन सुरक्षित र प्रभावकारी मात्र नभई भण्डारण गर्न र लगाउनसमेत सहज रहेको बताइएको छ । खोप १८ वर्षभन्दा माथिका व्यक्तिलाई लगाउन स्वीकृत दिइएको छ ।बुधबार सार्वजनिक गरेको रिभ्युअनुसार यो भ्याक्सिन सुरक्षित र प्रभावकारी रहेको तथा अस्पताल भर्ना हुने र मृत्यु हुने अवस्था रोक्न पूर्णरुपमा सफल भएको निष्कर्ष निकालिएको छ ।जोन्सन एन्ड जोन्सनको भ्याक्सिन लगाएको ४ हप्तापछि कोरोना संक्रमण हुनबाट रोक्न समग्रमा ६६ प्रतिशत प्रभावकारी देखिएको जनाएको छ । गम्भीर प्रकृतिका कोरोनाका बिरामीमा गरिएको प्रयोगले भने थप जोखिम हुनबाट रोक्न भने ८६ प्रतिशत प्रभावकारी रहेको उल्लेख गरिएको छ । अमेरिकामा समग्र प्रभावकारिता ७२ प्रतिशत मापन गरिएको छ । यो एक डोजमै यति धेरै प्रभावकारी देखिनुले खोप प्रयोगकर्ताको मनोबल उच्च राख्न र प्रयोग गर्न सहज भएको जनाइएको छ ।

मोडेर्ना र फाइजरका खोप भने दुई डोज प्रयोग गरेपछि मात्र ९५ प्रतिशत प्रभावकारी रहेको जनाइएको छ । आगामी सातादेखि नै २ मिलियन डोज भित्रिने र २० मिलियन डोज खोप मार्चमा उपलब्ध गराउने गरी अमेरिकी सरकारले जोन्सन एन्ड जोन्सनसँग सम्झौता गरेको छ ।यो खोप हाल नेपालमा भारतबाट ल्याइएको भारतको सेरम इन्स्टिच्युटबाट उत्पादिन कोरोनाविरुद्धको खोप कोभिसिल्ड जस्तै तापक्रममा राख्न मिल्ने र खोप ओसारपसारमा पनि सहज भएको अमेरिकी सञ्चारमाध्यममा सार्वजनिक भएका समाचारले प्रस्ट्याउँछ ।

प्रतिक्रिया दिनुहोस्