कालीगण्डकी करिडोरको रानीपानी–फलेबास खण्डमा कालोपत्रे शुरु



दुर्गाप्रसाद शर्मा, पर्वत ।

दुई छिमेकी मुलुक भारत र चीन जोड्ने ब्यापारिक सडक कालिगण्डकी करिडोर अन्तर्गत पर्वतको रानीपानी– फलेबास खण्डमा कालोपत्रे शुरु गरिएको छ । पर्वतको रानीपानीदेखि कुर्घा हुँदै फलेवाससम्म २३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्यको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गर्नुभएको हो ।

पर्वतको बिहादी गाउँपालिका–२ रानीपानीदेखि फलेवास नगरपालिकाको लमायखोला सम्मको खण्डका लागि आवश्यक १ अर्ब २४ करोड रुपैयाँ बजेट बिनियोजन भएको छ । बजेट विनियोजनसँगै बहुवर्षीय ठेक्काका लागि समेत अर्थ मन्त्रालयले स्वीकृत दिएपछि सडक कालोपत्रेको काम सुरु भएको हो । दुई हप्तापछि सडक कालोपत्रेको काम तीव्र गतिमा हुने आयोजना प्रमुख सुवोध देवकोटाले जानकारी दिनुभयो । देवकोटाले आउँदो दुई वर्षभित्रै सडक कालोपत्रेको काम सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको यो खण्ड पर्वत जिल्लाको मेरुदण्ड समेत हो । कालीगण्डकी कोरिडोर अन्तर्गत गैँडाकोटदेखि पर्वतको मालढुंगासम्मको २ सय ४५ किलोमिटर सडकखण्डमध्ये गैँडाकोटदेखि राम्दीसम्मको १ सय ३१ किलोमिटर सडक कालोपत्रेको काम धमाधम भइरहेको छ । अहिलेसम्म १५ किलोमिटर सडक कालोपत्रे भइसकेको र चालु आर्थिक बर्षमा ७० किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्य लिएको आयोजना प्रमुख देवकोटाले बताउनुभयो । यो सडक व्यापारिक तथा धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिएको छ ।

करिडोरको पर्वत खण्डमा पर्ने लमायखोलादेखि अर्मादीसम्म मात्रै कालोपत्रेका लागि बाँकी रहेको छ । सो खण्डमा समेत अहिले ट्याक खोल्ने काम भइरहेको छ। चैत्र सम्ममा ट्रयाक खोल्ने काम सकेर त्यसलाई पनि कालोपत्रेका लागि प्रकृया अगाडी बढाईने प्रमुख देबकोटाले जानकारी दिनुभयो । पर्वतको अर्मादी देखि स्याङ्गजाको सेतीबेणी सम्मको ५३ किमि मध्ये मिर्मी देखि सेतीबेणी सम्मको ७ किमीमा सडक र सेतीबेणी देखि रानीपानी सम्मको ७ किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भैरहेको छ ।

फलेबासमा आयोजित शिलान्यास कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कालोपत्रे गर्ने कार्यको शिलान्यास गर्दै विकास निर्माणले गति लिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले अब पर्वत जिल्ला सडक सञ्जालले समृद्ध बनेको बताउँदै जिल्लावासी भएको नाताले विकासमा सँधै हातेमालो गरेको बताउँदै कुनै पनि पालिका र वडाहरुमा जाँदा कच्ची बाटोमा हिँड्नुपर्ने अवस्था नआउने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य पदम गिरीले पर्वत जिल्ला सडक सञ्जाल बिस्तारका हिसाबले सबैभन्दा अगाडी आएको छ भन्नुभयो । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्सालले पर्वतको मेरुदण्डको रुपमा रहेको कालीगण्डकी करिडोरको काम सकिएपछि जिल्लाको बिकासले मुहार फेर्ने बताउनुभयो ।

यसैबीच करिडोरअन्तर्गत मालढुंगादेखि बेनी सम्मको सडकको स्तरउन्नतीका लागि हालै टेन्डर आह्वान भएको छ। सो सडकको कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोरला आयोजनाले टेन्डर आह्वान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्