अस्पतालमा डाक्टरको आलोपालो, बिरामी मारमा



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्साको पोखरियामा रहेको पोखरिया अस्पतालको व्यवस्थापन पक्ष कमजोर हुँदा ग्रामीण भेगका बिरामी र सेवाग्राहीले प्रभावकारी उपचार सेवा नपाएको नगरवासीले गुनासो गरेका छन् । अस्पताल विकास समितिले एका तिर अस्पताल व्यवस्थापनमा चासो दिएको छैन भने अर्को तिर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अनिल यादवको लापरवाहीका कारण अस्पताल अहिले स्वास्थ्य चौकीजस्तै सञ्चालन भइरहेको छ ।

आवश्यक दक्ष जनशक्ति हुँदा पनि बिरामीहरूले अस्पतालबाट गुणस्तरीय र प्रभावकारी सेवा नपाएका हुन् । अस्पतालमा ६ जना चिकित्सक छन । उनीहरूले दैनिक सेवा दिनुपर्नेमा ६ दिनको लागि आलोपालो ड्युटी मिलाएका छन् ।पोखरिया अस्पतालमा मेसु डाक्टर अनिल यादव, डाक्टर विनय कुमार यादव, डाक्टर सञ्जय गुप्ता, डाक्टर दीपेन्द्र मण्डल, डाक्टर मृगेन्द्रसिंह यादव र डाक्टर सुरेन्द्र यादव गरी ६ जना चिकित्सक नियुक्त छन् ।

यस्तै दुईजना स्टाफ नर्स, ७ जना अहेब, सात अनमी र एक जना कार्यालय सहयोगीको दरबन्दी छ । पोखरीया अस्पतालमा आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी हुँदाका बाबजुद पनि एक दिनमा एक जना चिकित्सकले मात्र चेकजाँच गर्दा घण्टौंसम्म पालो पर्खनुपर्ने तथा अनुभवी चिकित्सक नआएको दिन नयाँ चिकित्सकबाट राम्रो उपचार नपाउने गरेको बिरामीहरूको गुनासो छ ।पोखरिया अस्पतालमा दैनिक सयदेखि डेढ सयजना बिरामी आउने गरेका छन् । पोखरियावासीले अस्पतालको सेवा यस्तै रहने हो भने अस्पताल बन्द गर्न पोखरिया नगरपालिकासँग आग्रह गरेका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष एवं पोखरिया नगपालिका वडा नंबर ४ का वडाअध्यक्ष लक्ष्मणसाह कानूले अस्पतालका मेसु यादवलाई बोलाएर अस्पताल सम्बन्धी गुनासा बारे सोधपूछ गर्ने बताउनुभयो । चिकित्सकको लापरवाही देखिए उनीहरूलाई कारबाई गर्ने चेतावनी पनि उहाले दिनुभयो । अस्पतालका मेसु डाक्टर यादवले भने दैनिक बिरामीको संख्या घटेकाले केही चिकित्सक अनुपस्थित रहने गरेको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्