शिक्षकलाई आयुर्वेद र योग शिक्षा



मिला दरै, तनहुँ  ।

दीर्घकालसम्म स्वस्थ बनाउन टेवा पु¥याउने उद्देश्यले शिक्षकहरुलाई योग शिक्षा प्रदान गरिएको छ । शुक्लागण्डकी नगरपलिकाका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई आयुर्वेद र योग शिक्षाबारे प्रशिक्षण प्रदान गरिएको छ । शुक्लागण्डकी नगरपालिका आयुर्वेद शाखाको आयोजनामा नगरपालिकाभित्रका माध्यमिक तहसम्म पढाइ हुने विद्यालयका शिक्षकलाई प्रशिक्षण दिइएको हो ।

नगरपालिकाका माध्यमिक तहसम्म पढाइ हुने १६ विद्यालयका शिक्षकलाई प्रशिक्षण दिइएको शुक्लागण्डकी नगरपालिका आयुर्वेद शाखा प्रमुख डा..रामकृष्ण भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाभित्रका प्रत्येक विद्यालयका २ जना शिक्षकलाई प्रशिक्षण दिइएको थियो ।प्रशिक्षण दिँदै डा. भुजेलले सिकेको ज्ञान विद्यार्थीसमक्ष प्रदान गर्न अनुरोध गर्नुभयो । उहाँले विद्यालयले विद्यार्थीलाई स्थानीयस्तरमा उपलब्ध हुने औषधीय जडीबुटी चिनाउन सकेमा मात्र संरक्षण हुने बताउनुभयो । हजारौं विद्यार्थीसंग जोडिने भएकाले आयुर्वेद र योग शिक्षाबारे शिक्षकलाई आवश्यक रहेको उहाँको भनाइ छ ।

शुक्लागण्डकी नगरपालिकाका शिक्षा शाखाका अधिकृत ज्योतिप्रकाश तिमल्सिनाले शिक्षकले सिकेको सिकाइले विद्यार्थीलाई लाभ पुगे सार्थकता पाउने बताउनुभयो । विद्यालय तहको पाठ्यक्रममा आयुर्वेद र योग शिक्षा समावेश गर्नुपर्ने आवश्यकता दिवस माध्यमिक विद्यालय उदेनढुंगाका सहायक प्रधानाध्यापक डिल्लीराम घिमिरेले औंल्याउनुभयो ।तालबेंसी माध्यमिक विद्यालय घारी तालबेसीकी शिक्षिका गोमादेवी शर्माले परापूर्वकालदेखि नेपाल तपोभूमिका ऋषिमुनिहरुले प्रतिपादन गरेको सिद्धान्तलाई अहिले अन्तर्राष्ट्रिय जगत्ले मान्यता दिन थालेको अवस्थामा स्थानीयरूपमा नै यसलाई अवलम्बन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

डा. भुजेलले आयुर्वेदको महत्व, रविचन्द्र लामिछानेले स्थानीयस्तरमा पाइने आयुर्वेदिक गुण भएका जडीबुटी, सेवन गर्ने तरिका र शुक्लागण्डकी नगरपालिकाका आयुर्वेदिक शाखाका प्रमुख गोपालप्रसाद श्रेष्ठले योगको विषयमा सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्