फोटो यातायात व्यवस्था कार्यालय वर्षौंदेखि सुनसान



विमल विष्ट, डोटी  ।
सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको यातायात व्यवस्था कार्यालयमा दिनहुँ सेवाग्राहीको भीड रहँदै आए पनि जिल्लाको दिपायलस्थित राजपुरमा स्थापना गरिएको यातायाता व्यवस्था कार्यालय भने वर्षौंदेखि सुनसान अवस्थामा रहेको छ । लक्षअनुसारको सेवा प्रवाह तथा कर्मचारी नभएका कारण उक्त कार्यालय स्थापना कालदेखि नै प्रायः सुनसान बन्दै आएको हो ।

दिपायल सिलगढी नगरपालिका–४ रापजुरमा स्थापना गरिएको उक्त यातायात व्यवस्था सेवा कार्यालय कर्मचारी अभावमा सुनसान जस्तै बनेको छ । कार्यालय स्थापना भएको पाँच वर्ष बितिसक्दासमेत कर्मचारी अभावका कारण पूर्णरूपमा कार्यालयको सेवा सुचारु हुन नसकेको भन्दै स्थानीयबासी तथा सेवाग्राही आक्रोशित बन्दै गएका छन् ।उक्त कार्यालयमा हालसम्म पनि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको हो । आठौं तहका कार्यालय प्रमुख रहने दरबन्दीको संरचनाअनुसार स्थापना गरिएको कार्यालयमा गत साउनदेखि कार्यालय प्रमुख नै छैनन् । संरचनाअनुसार आठौं तहको कार्यालय प्रमुख, छैटौं तहको अधिकृत एक, पाँचौं तह एक, चौथो तह एक, मेकानिकल सुपरभाइजर र कार्यालय सहयोगी दुई गरी कुल सात जनाको दरबन्दी रहने कार्यालयमा हाल छैठौं तहको अधिकृत एक, सहायक पाँचौं एक, चौथो तह एक र कार्यालय सहयोगी एक गरी जम्मा चार जनामात्रै कर्मचारी रहेको निमित्त कार्यालय प्रमुख चेतराज भट्टले बताउनुभयो । ‘

हामीसँग आवश्यक पर्ने प्राविधिक कर्मचारी छैनन्, प्राविधिक कर्मचारी नहुँदा कसरी कार्यालयले सेवा प्रदान गर्न सक्नु ।’ –उहाँले भन्नुभयो ।यातायात व्यवस्था सेवा कार्यालयस्थापना भएको पाँच वर्ष बितिसक्दा पनि यातायात व्यवसायीहरूले सेवा लिन कैलाली जानुपर्ने बाध्यता कायमै रहेको शैलेश्वरी यातायात प्रालीको कार्यालय प्रमुख प्रेम रावलले बताउनुभयो । उहाँले भन्नुहुन्छ– ‘दिपायलमा यातायातका कामका सबै सुविधा दिने भनेर अछाम, बाजुरासहित लक्षित गरेर कार्यालय खोलियो तर कर्मचारी पठाइएन, हामीले सामान्य कामका लागि पनि कैलाली धाउनुपरेको छ, यस्तो नामको कार्यालय खोलेर के काम ।’यातयात व्यवसायीलाई सेवा दिने भन्दै कार्यालय खोलिएको तर गाडीको कागजात नवीकरणदेखि अन्य सामान्य काम गर्न पनि कैलाली जानुपर्ने अवस्था आएपछि यातायात व्यवसायीहरु आक्रोशित बनेका छन् ।

सवारी दर्ता नवीकरण, नामसारी, सवारी चालक अनुमतिपत्र जारी र नवीकरण गर्न, बाटो इजाजतपत्र जारी र नवीकरण गर्न, यातायात सेवापञ्जीकृत, सवारी जाँचपास, सेती अञ्चल यातायात व्यवस्था कार्यालयबाट जारी भएका चालक अनुमतिपत्र नवीकरण, पट्के बाटो इजाजत, सवारी अनुगमनलगायतका कार्यहरू गर्नका लागि स्थापना गरिएको भए पनि हालसम्म कार्यालयले चालक अनुमतिपत्र नवीकरण, बाटो इजाजत नवीकरण, पट्के बाटो इजाजत, पञ्जीकरणको काम पनि शुरु गरेको छैन ।कार्यालय खोलिए पनि यातायात सेवा कार्यालयबाट प्रदान हुने सेवा लिन सेवाग्राहीले कैलाली जिल्ला जानुपर्ने बाध्यता यथावत् रहँदै आएपछि उक्त कार्यालय पनि अन्तै सानुपर्नेस्थानीयबासीको माग रहेको छ । त्यस्तै सवारी चालक अनुमति पत्रका लागि लिइने सीप परीक्षण गर्न र निर्माण गर्न लागिएको ट्रायल सेन्टर निर्माणको काम पनि हालसम्म अधुरै रहेको छ ।

विसं २०७७ साल जेठ मसान्तसम्म निर्माण भइसक्ने र असारदेखि सवारीचालक अनुमतिपत्र वितरण गर्ने भन्ने लक्ष्यका साथ निर्माण कार्य भएको सेन्टर तोकिएको समयभन्दा आठ महिना बितिसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन् । कूल २७ लाख ८१ हजारको लागतमा दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा निर्माण गर्न लागिएको ट्रायल सेन्टरको गतवर्षको चैत महिनामा तत्कालीन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री पठानसिंह बोहराले शिलान्यास गर्नुभएको थियो । निर्माण कार्य अधुरै राखिएपछि अहिले उक्त ट्रायल सेन्टर क्रिकेट खेल्ने खेल मैदानका रूपमा चिनिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्