भारतलाई कोरोना मुक्त बनाउने नरेन्द्र मोदीको दाबी



 

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई कोभिड-१९ मुक्त बनाउने दाबी गरेका छन् । आइतबार कोभिड भ्याक्सिनको पहिलो डोज लगाएको फोटो सार्वजनिक गर्दै मोदीले भारतलाई चाँडै नै कोभिड मुक्त बनाउने दाबी गरेका हुन् ।

उनले एम्स अस्पताल पुगेर कोभिडको पहिलो डोजको खोप लगाएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले विश्वव्यापी रुपमा डाक्टर र वैज्ञानिकहरुले कोभिडविरुद्धको लडाईलाई सशक्त बनाएका पनि दाबी गरेका छन् ।

कोभिड १९ बाट सबैभन्दा धेरै संक्रमित हुने भारत दोस्रो देश हो । एक करोड ११ लाख बढी संक्रमित हुँदा डेढ लाखले ज्यान गुमाएका छन् । भारतले अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रजेनिकाको सहयोगमा कोभिशिल्ड खोप निर्माण गरेर लगाइरहेको छ । जुन खोप मोदीले पनि लगाएका हुन् ।

नेपालले पनि कोभिशिल्ड खोप भारतबाटै ल्याएको हो । सुरुमा १० लाख डोज कोभिड खोप अनुदानमा ल्याएको नेपालले हालै २० लाख डोज खोप खरिद गरेको छ । त्यसमध्ये पहिलो चरणमा १० लाख डोज खोप काठमाडौं ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्